प्यूठान । प्यूठानमा नदिजन्य पदार्थको उत्खनन् भैरहेको क्षेत्रमा जिल्ला समन्वय समितिको टोलिले छड्के अनुगमन गरेको छ।सोमबार जिल्लाको झिमरुक गाउँपालिका अन्तर्गत रहेका विभिन्न निर्माणाधीन सडक, पुल, सामुदायिक अस्पताल तथा नदिजन्य पदार्थको उत्खनन् भैरहेको क्षेत्र घाटको अनुगमन गरिएको हो ।

झिमरुक गाउँपालिका ३ र ८ नम्बर वडामा पर्ने झिमरुक नदि अन्तर्गत खमारिघाट क्षेत्र १ र २, झिमरुक गाउँपालिका ३,७ र ८ नम्बर वडा भित्रमा पर्ने झिमरुक नदि अन्तर्गत बालुवा लामासेरा र झिमरुक गाउँपालिका-१ स्थित गर्तनखोला (बालुवा) क्षेत्रमा भैरहेको नदिजन्य पदार्थको उत्खननको अवस्था बारे समग्र पक्षमा अनुगमन गरिएको जिसस प्रमुख तथा जिल्ला अनुगमन समितिका संयोजक धर्म बहादुर जिसीले जानकारी दिनुभयो ।

नदीजन्य पदार्थ, ढुङ्गा, गिट्टी, बालुवा घाटहरुबाट के कसरी निकालिएको छ? रोयल्टी के कस्तो छ? अवैध निकासी भएको छ छैन मापदण्ड पूरा गरिएको छ, छैन ? भन्ने बिषयमा प्राबिधिक सहितको टोलिले अनुगमन गरिएको उहाँले जानकारी दिनुभयो । अनुगमनको क्रममा देखिएका कतिपय कमजोरीलाई पहिलोपटक  सुधार गर्न भनिएको र अर्कोपटक अनुगमन गर्दा सुधार नगरिएको पाइएमा कानुन अनुसार कार्वाही प्रक्रिया अगाडि बढाउने गरि सुझाव दिएको जानकारी दिनुभयो। नियमविपरीतका हरेक गतिविधि रोक्न समेत अनुगमनका क्रममा सुझाव दिएको उहाँले जानकारी दिनुभयो।

अत्यन्तै सुस्त गतिमा निर्माण भइरहेको मदन भण्डारी राजमार्गलाई तिब्र गतिमा निर्माण कार्य अगाढी बढाउन सुझाव दिएको छ । साइटमा ब्याक कटिङ्ग र विभिन्न संरचनाको स्थलगत अनुगमन गरिएको हो ।

त्यस्तै भर्खरै सिलान्यास भइ निर्माण कार्य सुरु भइरहेको झिमरुक नदिमा पर्ने किटघाट पुलको अनुगमन गरिएको छ। निर्माण कार्य तोकिएको समयसिमामै सम्पन्न गर्न निर्माण कम्पनीलाई सुझाव दिएको प्रमुख जिसीले बताउनुभयो । किटघाट पुलको कामले गति लिएको समेत जानकारी दिनुभयो । झिमरुक गाउँपालिका-३ लामासेरामा रहेको गौमुखी एग्रीगेटको समेत विभिन्न पक्षको अनुगमन गरिएको प्रमुख जिसीले बताउनुभयो ।

जिल्ला समन्वय समितीलाई अनुगमन गर्ने अघिकार दिएपनी कार्वाही गर्ने अधिकार नहुदा अनुगमन तथा निरिक्षण कामको प्रभावकारितामा समस्या भएको जिसस उप-प्रमुख दुर्गा रेग्मीले बताउनुभयो । कतिपय कानुनी जटिलता छ। जसले गर्दा पनि जिल्ला समन्वय समिती एक्सनमा जान सक्दैन। अनुगमन गर्ने राय सुझाव दिनेमात्र कामले उपलब्धि आउन नसक्ने उहाँले बताउनुभयो । त्यसको लागि जिससको भुमिका र अधिकार फराकिलो बनाउनुपर्ने उप-प्रमुख रेग्मीले बताउनुभयो ।

जिल्ला समन्वय समिति प्यूठानका प्रमुख तथा अनुगमन समितिको संयोजक धरम बहादुर जिसीको नेतृत्वमा उप-प्रमुख दुर्गा रेग्मी, जिल्ला समन्वय अधिकारी भोज बहादुर भण्डारी, झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर थापा, जिल्ला समन्वय समितिका इन्जिनियर लक्ष्मी अधिकारी, गाउँपालिका इन्जिनियर अशोक जिसी, जिल्ला समन्वय सदस्यहरु, निर्माण व्यवसायी, पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय