दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजपुर गाउँपालिका–५, गंगदीस्थित साधारण नमुना माध्यमिक विद्यालयको नव निर्मित शैक्षिक भवनको उद्घाटन गर्नुभएको छ । यो भवन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुदान सहयोगमा निर्माण गरिएको थियो ।

मुख्यमन्त्री आचार्यले विद्यालयले विकट क्षेत्रमा शिक्षाको उज्यालो छर्न पुर्‍याएको योगदानको प्रशंसा गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र नतिजा खस्किएकोले सुधारका लागि सघन योजना निर्माण गरी कार्यान्वयन गर्न जोड दिनुभयो । उहाँले लुम्बिनी प्रदेश सरकार शैक्षिक गुणस्तर बढाउन र नतिजा सुधार गर्न प्रतिबद्ध रहेको बताउनुभयो । `भवन मात्र भएर हुँदैन, गुणस्तरीय र व्यावसायिक शिक्षा बढाउन आवश्यकता छ । अभिभावक र शिक्षकबीच समन्वय गरेर शिक्षाको गुणस्तर बढाउन सकिन्छ´उहाँले भन्नुभयाे-`प्रदेश सरकारले शैक्षिक क्षेत्र सुधार्न ध्यान दिएकाे छ ।´

मुख्यमन्त्री आचार्यले राजपुर गाउँपालिकाको गत वर्षको एसईई नतिजा निराशाजनक रहेको भन्दै यस वर्षको नतिजा सुधारका लागि पठनपाठनलाई चुस्त बनाउन आग्रह गर्नुभयो ।`सिङ्गो पालिकाबाट एसईईमा केवल एक जना मात्र पास हुनु दुखद कुरा हो । यसलाई सुधार्नका लागि समस्याको जड पत्ता लगाएर उपचार गर्नु जरुरी छ´उहाँले भन्नुभयाे-`शिक्षाकाे गुणस्तर सुधार्न अभिभावकले कडा निगरानी राख्नुपर्छ । सबै तह र तप्काबाट ध्यान दिएर शैक्षिक गुणस्तर बढाउन सकिन्छ ।´

संघीयताका कारण विकास निर्माणले गति लिएको उल्लेख गर्दै, विकट बस्तीमा सेवा-सुविधा पुर्‍याउन प्रदेश सरकारले विशेष ध्यान दिएको बताउनुभयो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । लुम्बिनी प्रदेशका पूर्व सांसद रेवतीरमण शर्माले विद्यालयबीच शैक्षिक गुणस्तरमा प्रतिस्पर्धा हुन आवश्यक रहेको र यसका लागि सबै निकायबीच समन्वय र सहकार्य बढाउनुपर्ने धारणा राख्नुभयो ।

नेकपा (एमाले) का केन्द्रीय सदस्य जीवन गौतमले शैक्षिक गुणस्तरलाई प्राथमिकतामा राखेर विद्यालयलाई सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीसँग सीप र दक्षता अभिवृद्धि गरी अघि बढ्नुपर्ने तथा विषयगत शिक्षकको व्यवस्थापन र पाठ्यक्रम सुधार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष धनपतीदेवी यादवले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर लगानी गरिएको र कक्षा १२ सम्म निःशुल्क शिक्षा लागू गरिएको बताउनुभयो । राजपुर गाउँपालिकाका पूर्व अध्यक्ष लोकराज केसीले प्राविधिक धार सञ्चालन गरेर विद्यालयलाई नमुना बनाइएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नागेन्द्रप्रसाद यादवले विद्यालयको शैक्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । प्रमुख अतिथि मुख्यमन्त्री आचार्यले विद्यालयका पूर्व प्रधानाध्यापकहरूलाई सम्मान गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण शिक्षक मानबहादुर केसी र हिमा थापाले संयुक्तरूपमा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय