
प्यूठान । प्यूठान नगरपालिकाका अधिकांश वडाहरूमा दशकौंदेखि रहेको खानेपानीको समस्या अब समाधान हुने भएको छ ।
नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य समेत रहेका सांसद सूर्य थापाको पहलमा सरकारले बृहत बिजुवार खानेपानी आयोजनाका लागि बहुवर्षीय स्रोत सहमति प्रदान गरेको छ । जसअन्तर्गत आर्थिक वर्ष २०८१/८२ मा २३ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ ।
‘प्युठान नगरपालिकाका १० मध्ये ६ वटा वडाहरू (क्वाडी-दाखाक्वाडी-विजयनगर-बिजुवार-पुण्यखोला-टिकुरी-बाग्दुला-गेजबाङ-दम्तीसम्म)को खानेपानी समस्या समाधान गर्नेगरी गावैखोला/बल्ले खोलाबाट स्वच्छ खानेपानी आपूर्ति गर्ने प्रबन्ध मिलाउने आयोजना अघि बढ्ने सुनिश्चित भएको छ ।’ सांसद थापाले भन्नुभयो ।
यस आयोजनाले नगरपालिकाका १० मध्ये ६ वटा वडाहरू क्वाडी, दाखाक्वाडी, विजयनगर, बिजुवार, पुण्यखोला र टिकुरी, बाग्दुला, गेजबाङ, दम्ती क्षेत्रका बासिन्दाहरूलाई लाभान्वित गर्नेछ । गावैखोला/बल्ले खोलाबाट स्वच्छ खानेपानी आपूर्ति गरिने यो परियोजनाले स्थानीय जनताको लामो समयको मागलाई सम्बोधन गर्नेछ ।
सांसद थापाले एक वर्षदेखि गरेको निरन्तर पहलका कारण यो आयोजना सम्भव भएको हो । उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरीय बैठकको निर्णयपछि यो आयोजना अब कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।
थापाले भने, ‘तपाईंहरूको अमूल्य मतको वारेसका रूपमा सिंहदरबारमा आएर विगत एक वर्षदेखि यहाँ र त्यहाँ दुबैतर्फ अनवरत रूपमा गरेको पहलबाट यो काम भएको छ ।’ यो आयोजना प्यूठान नगरपालिकाको विकासमा एक ऐतिहासिक कोशेढुंगा सावित हुने विश्वास गरिएको छ । विगत ८१ वर्षको इतिहासमा यति ठूलो खानेपानी आयोजना पहिलो पटक कार्यान्वयन हुन लागेको हो, जसले हजारौं नागरिकको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने र यहाँको आर्थिक विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
‘प्यूठान नगरबासीहरूका लागि विगत ८१ वर्षमा यति ठूलो खुशीको क्षण सायद अघि कहिल्यै आएको थियो । सम्पूर्ण न्यायप्रेमी नगरबासीहरूमा हार्दिक बधाई छ ।’ सांसद थापाले खुशी व्यक्त गर्दै भन्नुभएको छ ।