प्यूठान । पाठेघरको मुखको क्यान्सर विरुद्ध प्यूठानमा किशोरीहरुलाई खोप लगाउन थालिएको छ । पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउनका लागि स्वास्थ्य कार्यालय प्यूठानले यहि माघ २२ गतेदेखि २८ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो ।
जिल्लामा रहेका ६ कक्षादेखी १० कक्षासम्म अध्ययन गर्ने किशोरी र विद्यालय बाहिर रहेका १० देखी १४ वर्ष उमेर समुहका किशोरीलाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय प्यूठानका निमित्त प्रमुख मधुसुदन खड्काले जानकारी दिनुभयो । जिल्लाका १५० वटा विद्यालयका १३ हजार ५४६ किशोरी र समुदायमा रहेका २१७ जना किशोरीलाई खोप दिने लक्ष्य राखिएको खड्काले जानकारी दिनुभयो । त्यसका लागि विद्यालय र स्वास्थ्य संस्थामा खोप केन्द्र तोकिएको छ ।
नेपालमा प्रत्येक वर्ष २ हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको देखिएको छ । प्रत्येक वर्ष १ हजार ३१३ जना महिला पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ । पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि सरकारले खोपको व्यवस्था गरेको छ ।
आगामी वर्षदेखी नियमित रुपमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउने सरकारको योजना रहेको खड्काले बताउनुभयो । प्रत्येक वर्षको फागुन महिनामा खोप लगाउने सरकारको योजना छ । प्रत्येक वर्ष नियमित रुपमा कक्षा ६ मा अध्ययन गर्ने किशोरी र समुदायका १० वर्ष उमेरका किशोरीलाई खोप लगाउने योजना छ ।
जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरी र विशेष अतिथी लुम्बिनी प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठ रहनुभएको थियो । कार्यक्रममा सञ्चारकर्मी र खोप समन्वय समितिका पदाधिकारीलाई खोप अभियानको बारेमा जानकारी गराइएको थियो । खोप अभियानसँगै किशोरीहरुलाई महिनावारी सरफाई तथा स्वच्छता सम्वन्धी जानकारी समेत गरिने कार्यालयले जनाएको छ ।




S.K. Creative Media Group