प्युठान । जिल्लाको झिमरुक गाउँपालिकाले जेष्ठ नागरिकलाई सामाग्री हस्तान्तरण गरेको छ । मंगलबार झिमरुक गाउँपालिका-६, तोरवाङका जेष्ठ नागरिकहरुलाई एक एक थान चरेसको थाली, कचौरा र गलबन्दी वितरण गरिएको हो ।
वडाका विभिन्न उमेर समुहका जेष्ठ नागरिकलाई वडा कार्यालयको तर्फवाट जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत ७७ वर्ष देखी ७९ वर्ष उमेरमा भित्रका २३ जना बृद्ध बृद्धालाई एक एक थान चरेसको थाली, कचौरा र गलबन्दी उपलब्भ गराइएको वडा सचिब राम कुमार चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार सामाग्री पाउनेमा जेष्ठ नागरिक महिला १४ जना र पुरुष ९ जना गरि २३ जना जेष्ठ नागरिकलाई सामाग्री हस्तान्तरण गरिएको हो ।
वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जेष्ठ नागरिकलाई थाली, कचौरा र गलबन्दी हस्तान्तरण गर्नु भएको थियो । सामाग्री हस्तारण कार्यक्रममा बोल्दै अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले यो कार्यक्रमले केही राहत मिल्ने आशा व्यक्त गर्नुभयो ।
गाउँपालिका अध्यक्ष महतरा क्षेत्रीले जेष्ठ नागरिकलाई थाली, कचौरा र गलबन्दी वितरण गर्दै भन्नुभयो, “जेष्ठ नागरिक हाम्रा अभिभावक हुनुहुन्छ। मन्दिर पुगेर भगवान खोज्नु भन्दा जेष्ठ नागरिक आफ्ना घरका आमाबुवालाई सेवा गर्दा सबैभन्दा ठूलो पुन्य मिल्नेछ।” सबैले आफ्नो अभिभावकहरुको स्वास्थ्यको ख्याल गर्दै हेरचाहमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । जेष्ठ नागरिकले कुनैपनी अभावमा समस्या नपरोस् भन्नेमा अभिभावकले बढिचासो दिनुपर्यो, सरकारले पनि सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वडा कार्यालयबाट आर्थिक वर्ष २०८१÷०८२ को लागि स्वीकृत जेष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत एक लाख रुपैयाँ बजेट विनियोजन गरिएको वडा अध्यक्ष धन बहादुर पुनले जानकारी दिनुभयो । उक्त बजेटबाट सामग्री हस्तान्तरण गरिएको छ । सामग्री पाएपछि बृद्धबृद्धाको अनुहारमा खुसी छाएको थियो ।
झिमरुक गाउँपालिका-६ का कार्यबाहक वडा अध्यक्ष मित्रु गिरीको अध्यक्षतामा भएको कार्यक्रममा झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष धन बहादुर पुन, स्वास्थ्य शाखाको उप-संयोजक हरि जिसी, वडा सदस्य खिम कुमारी श्रेष्ठ, राधिका बिक, वडा सचिब राम कुमार चौधरी, अन्य कर्मचारी र जेष्ठ नागरिक लगायतको उपस्थिति रहेको थियो । गाउँपालिका तथा वडाले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने कार्यबाहक वडा अध्यक्ष मित्रु गिरीले प्रतिवद्धता व्यक्त गरिएको छ।





S.K. Creative Media Group