
प्युठान । तीन जिल्ला प्युठान, गुल्मी र अर्घाखाँचीको संगम स्थल सौतामारेमा सिमा स्तम्भ निर्माण गरिने भएको छ । शुक्रबार गुल्मीको मदाने गाउँपालिकाको ऐतिहासिक प्राकृतिक सम्पदा तथा सौर्न्दर्यले भरिपूर्ण पर्यटकीय स्थल कंके देउरालीमा तीन जिल्ला प्युठान, गुल्मी र अर्घाखाँचीका तीन पालिकाहरु झिमरुक, मदाने र मालारानी गाउँपालिकाको संयुक्त बैठकले सौतामारेमा सिमा स्तम्भ निर्माण गर्ने निर्णय गरेको हो ।
प्युठानको झिमरुक-१, सौतामारे, गुल्मीको मदामे-७ सौतामारे र अर्घाखाँचीको मालारानी-७, सौतामारेमा आर्थिक वर्ष २०८२/०८३ मा तीन पालिकाको संयुक्त लगानीमा सिमा स्तम्भ निर्माण गरिने सहमति भएको झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो । सिमा स्तम्भ कुन स्थानमा बनाउने कस्तो बनाउने भन्ने बिषयमा तीन गाउँपालिकाका अध्यक्षहरु र इन्जिनियरको टोलिले स्थलगत अनुगमन निरीक्षण गरेर सिमा स्तम्भ निर्माण हुने स्थान र लागत तयार गरिने उहाँले जानकारी दिनुभयो । सिमा स्तम्भ सँगसँगै पार्क समेत निर्माण गरिने अध्यक्ष एमसीले जानकारी दिनुभयो ।
प्रस्तावित सिमा स्तम्भ निर्माण भएपछि उक्त स्तम्भमा तिनै जिल्लाको परिचय खुल्ने गरि विवरण समेत राखिने छ । यसले गर्दा घुम्न आउने आन्तरिक तथा वाहिरी पर्यटकलाई सहज हुने मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्का बताउनुभयो । यो क्षेत्रको बिकासमा सौतामारेलाई सबै हिसाबले राम्रो बनाउन तीन पालिकाले महत्त्वपूर्ण भुमिका र लगानी गर्नुपर्ने बताउनुभयो ।
झिमरुक गाउँपालिका अध्यक्ष अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको बैठकमा मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवर, उपाध्यक्ष सरिता खड्का, प्रमुख प्रशासकीय, अधिकृत शालिकराम पन्थी, सूचना प्राबिधिक शुसिल पोख्रेल, झिमरुक-१ का वडा अध्यक्ष धुर्वराज खनाल, मालारानी-६, का वडा सदस्य भुपे सुनार, झिमरुक गाउँपालिका कर्मचारी दामोदर उपाध्याय जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।