
प्यूठान । चर्चित कलाकार (मोडल) नारायणी खत्रीलाई जन्मभूमि प्यूठानमा सम्मान गरिएको छ । मोडल खत्रीलाई प्यूठान उद्योग वाणिज्य संघले सम्मान गरेको हो ।
माण्डवी गाउँपालिका-१ तिराममा जन्मिनुभएकी खत्रीलाई संघको २७ औं वार्षिक साधारणसभाको अबसरमा सम्मान गरिएको हो । जिल्ला समन्वय समितिको सभाहल खलंगामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य किशोर आचार्यले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
मोडल खत्री पछिल्लो समयकी चल्तीकी मोडल तथा डान्सर हुनुहुन्छ । खत्रीले केही समयअघि मात्र आफ्नै अफिसियल यूट्युब च्यानलबाट ‘‘करिमैले पो के गर्छ काइँला’’ बजारमा ल्याएको गीत अहिले चर्चामा छ ।
रुकुम पश्चिमको रमणीय गाउँमा छायाँकन भएको उक्त म्यूजिक भिडियोमा मोडल नारायणी खत्रीले अभिनेता पल शाहसँग अभिनय गर्नुभएको छ । कलाकार खत्रीलाई जिल्लामा बिभिन्न कार्यक्रममा प्राथमिकता दिने र सम्मान गर्ने गरिएको छ ।