प्युठान । जिल्लाको झिमरुक गाउँपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक, भौतिक प्रशासनिक अवस्था बारे जानकारी लिने र शैक्षिक गुणस्तर सुधारका लागि अनुगमन गरेको छ। अनुगमनका क्रममा अभिभावक, शिक्षक र विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै पठनपाठनमा सुधार गर्न र समस्या पहिचान गर्दै आवश्यक सुझाव दिइएको हो ।

शैक्षिकसत्र सुरु भए लगत्तै पालिकाले आफ्नो क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयहरूको अवस्था वारे जानकारी लिने र खस्किएको शैक्षिक गुणस्तरलाई सुधार गर्ने योजनाका साथ अनुगमन गर्न थालिएको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो ।

साथै, बिद्यालयमा विद्यार्थीलाई नियमित उपस्थिति अभिभावकले पनि ख्याल गर्नुपर्ने, जनशक्तिलाई व्यवस्थित गर्ने, विद्यालयमा लेखा प्रणाली व्यवस्थित गर्नुपर्ने, अचल सम्पत्तिको अभिलेखिकरण व्यवस्थित गर्नुपर्ने लगायतका सुझाव प्रदान गरिएको उहाँले जानकारी दिनुभयो।

झिमरुक गाउँपालिकाको शैक्षिक उपलब्धि वृद्धि गर्ने उद्देश्यले सामुदायिक विद्यालयहरूको नियमित अनुगमनलाई निरन्तरता दिई रहेको पालिकाले जनाएको छ।

यसै क्रममा आइतबार झिमरुक गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मर्कावाङ्ग सहित अन्य प्राथमिक बिद्यालयको अनुगमन गरिएको छ। सोही अवसरमा निर्माणाधीन दुई कोठे भननको समेत अनुगमन गरिएको थियो ।

गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्री, वडा अध्यक्ष धन बहादुर पुन, प्रधानाध्यापक, शिक्षक शिक्षिका, अभिभावक, लगायतको उपस्थितिमा विद्यालयकाे अनुगमन गरिएको थियो। अनुगमनका क्रममा बिद्यालय प्रशासन, अभिभावकले आफ्नो समस्या राखेका थिए । स्थानीय सरकारले उक्त समस्या समाधानमा पहल गर्दै जाने प्रतिबद्धता जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय