प्युठान । प्युठानमा सिर्जनशील तारा इङलिस बोर्डिङ स्कूल मरन्ठानाले १५औँ वार्षिक उत्सव मनाएको छ। प्युठान नगरपालिका–९, मरन्ठाना पिपलबोट स्थित रहेको उक्त बोर्डिङ स्कुलले विविध कार्यक्रमको आयोजना गरि मनाएको हो ।
शैक्षिक गुणस्तरसँगै मोन्टेसरी विधि र डिजिटल शिक्षक प्रविधिको प्रयोग गरेर पठनपाठन सुरु गर्नु अहिलेको युग सापेक्ष भएको संविधानसभा सदस्य दीपक केसीलेबताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका संविधानसभा सदस्य केसीले सबै बिद्यालयले आफ्ना बालबालिकालाई युग र समय अनुसार प्रविधिको प्रयोग गरेर विद्यार्थीको चाहाना अनुसारको शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । अब पुरानै तरिकाले हुँदैन । उहाँले भन्नुभयो,”समयानुकूल परिमार्जन र परिस्कृत गर्दै जानुपर्छ ।” विद्यार्थीको चाहाना बुझेर बिद्यालयहरु अगाडि पढ्नुपर्ने उहाँको जोड थियो ।
कार्यक्रममा सम्बोधन गर्दै विशिष्ट अतिथि जनता माध्यमिक विद्यालय बाग्दुलाको पूर्वशिक्षिका पुतला केसीले स्कुलले विद्यार्थीलाई पठनशिपसँगसँगै, चित्रकला, लगायत अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई अग्रसर बनाउनु निकै सकारात्मक भएको बताउनुभयो ।
सोही अनुसार विद्यार्थीहरूले स्मार्ट डस्टबिन, वेदर फोरकास्टिङ प्रणाली, विद्युत् गाडी, होलोग्रामलगायत परियोजना तयार पारेको देख्दाआफू खुशी भएको बताउनुभयो । विद्यालयले कक्षा १ देखि नै प्रयोगात्मक शिक्षामा जोड दिएको भन्दै यसलाई जिल्लाकै नमुना विद्यालय बन्ने विश्वास व्यक्त गर्नुभयो।
विद्यालयका प्रबन्ध निर्देशक डा भीमसेन गिरीले जिल्ला बाहिर बुटवल र काठमाडौँ पढ्न पठाउनुपर्ने बाध्यता हटाउने उद्देश्यले विद्यालय स्थापना गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा कक्षा विस्तार गरी कक्षा १२ सम्मको पढाइ यहीँबाट सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो।
कार्यक्रमका समाजसेवी, टेकुलाल गिरी, डोरबहादुर जीसी, टिकाराम पोखरेलले लगायतले स्कुलले गरेको हरेक बिद्यालयले सकारात्मक पक्ष, ज्ञान, सीपको सबैले एकअर्का बिच सहकार्य गर्दै सिको गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
विद्यालयका कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सपना केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक बुद्धिराज पण्डित र वर्षा नेपालीले गर्नुभएको थियो। कार्यक्रममा शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभावक, बुद्धिजीवी, लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालयले विभिन्न क्षेत्रका पूर्वशिक्षक तथा व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । त्यस्तै अतिरिक्त तथा परिक्षामा राम्रो नतिजा प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले गित, नृत्य सांस्कृतिक तथा शैक्षिक प्रस्तुति प्रस्तुत गरिएको थियो।
२०६७ सालमा स्थापना भएको विद्यालयले यस वर्षको वार्षिक उत्सवमा विद्यार्थीहरूले निर्माण गरेका विज्ञान, नवप्रवर्तन र प्रविधिमा आधारित सामग्रीहरूको प्रदर्शनी समेतको आयोजना गरेको थियो । त्यस्तै बेलायतको ग्रीनवीच विश्वविद्यालय र कलेज रिडर्स नेपालद्वारा संयुक्त रूपमा प्रदान गरिएको ‘इमर्जिङ डिजिटलाइज्ड बोर्डिङ स्कूल अवार्ड–२०२५’ समेत बिद्यालयले प्राप्त गरेको छ ।



S.K. Creative Media Group