प्यूठान । दुर्गम क्षेत्रका नागरिकलाई घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले गौमुखी गाउँपालिकामा विशेषज्ञ सेवा सहितको बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
गाउँपालिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको यस अभियानअन्तर्गत शनिवार पुँजा लिवासेस्थित गौमुखी आधारभूत अस्पतालमा शिविर आयोजना गरिएको हो ।
शिविरबाट ५ सय ५० भन्दा बढी स्थानीयले प्रत्यक्ष स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ । ग्रामीण भेगका बिरामीलाई लक्षित गरी बुटवल र प्यूठानका अनुभवी विशेषज्ञ चिकित्सकसहितको टोली शिविरमा खटिएको गाउँपालिकाले जनाएको छ।
गौमुखी गाउँपालिकाको मुख्य आयोजना तथा लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रालि (बुटवल) र निमतारा पोलिक्लिनिक (विजुवार, प्यूठान) को प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ग्रामीण भेगका नागरिकको स्वास्थ्य पहुँचमा टेवा पुर्याउन विशेषज्ञ चिकित्सकसहितको टोली परिचालन गरिएको लुम्बिनी सिटी अस्पतालका सञ्चालक राधा विष्टले बताउनुभयो ।
शिविरमा विशेषज्ञ डाक्टर, नर्सिङ, फार्मेसी र फिजियोथेरापी लगायतका विधाका १५ जना स्वास्थ्यकर्मीको टोली सहभागी थियो । टोलीमा छाती रोग विशेषज्ञ डा. श्रीजन पन्त, मानसिक रोग विशेषज्ञ डा. एन्जील क्षेत्री, अर्थोपेडिक सर्जन डा. सन्तोष भट्टराई, फिजिसियन डा. सुवाश जिसी तथा स्तन क्यान्सर रोग विशेषज्ञ डा. सञ्जय पाण्डे र डा. रशमी वैदवार क्षेत्री लगायतले बिरामीको जाँच गर्नुभएको थियो ।
आर्थिक अभाव र भौगोलिक विकटताका कारण सहरका ठूला अस्पताल पुग्न नसकेका नागरिकले गाउँमै विशेषज्ञ सेवा पाउँदा ठूलो राहत मिलेको गाउँपालिका उपाध्यक्ष महाबिर रानाले बताउनुभयो । उहाँले दुर्गममा आएर सेवा दिने सम्पूर्ण चिकित्सक तथा प्राविधिक टोलीप्रति नागरिकको तर्फबाट आभार एवं बधाई व्यक्त गर्नुभयो ।


S.K. Creative Media Group