प्यूठान । २६१ औं नेपाली सेना दिवसको अवसरमा बर्द बहादुर गण प्यूठानले अपांगता भएका विद्यार्थीलाई स्टेशनरी र खाद्यान्न सामाग्री बितरण गरेको छ ।
महेन्द्र माध्यमिक विद्यालय खलंगामा अध्ययनरत दृष्टिबिहिन र राष्ट्रिय अपांग सेवा संघ प्यूठानले संचालन गरेको शारीरिक अपांगता आवास गृहका बालबालिकालाई सामग्री बितरण गरिएको हो ।
बर्द बहादुर गणका गणपति प्रमुख सेनानी रमेश थापाले सैनिक नागरिक सम्बन्ध अन्तर्गत जनहितको कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले सेना दिवसको अवसरमा फागुन २५ गते शुक्रबार मल्लरानीमा रहेको शिव मन्दिर जिणोद्वार गरि गाउँपालिकालाई हस्तान्तरण र खलंगा टुडिखेलमा साँस्कृतिक कार्यक्रम गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा महेन्द्र माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक बिष्णु पौडेलले विद्यालयमा १४ जना दृष्टिबिहिन बालबालिका अध्ययनरत रहेको जानकारी दिनुभयो । नेपाल सरकारले प्रति विद्यार्थीले मासिक ४ हजारको दरले १० महिना उपलब्ध गराउने गरेको र विभिन्न सामाजिक संघ संस्थाको सहयोगबाट दृष्टिबिहिन स्रोत कक्षा संचालन भैरहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसी र प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले सेना दिवसको अवसरमा शुभकामना दिदै बर्द बहादुर गणले गरेको कार्यको प्रशंसा गर्नुभएको थियो । कार्यक्रमको संचालन मेजर धरमराज पाण्डेले गर्नुभएको थियो ।