प्यूठान । जिल्लाको प्यूठान नगरपालिकाले नि:शुल्क विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ। बुधबार नगरपालिकाले स्थानीय जनतालाई उपचारको सहज पहुँच पुगोस् भन्ने उद्देश्यले प्यूठान नगरपालिकाको वडा नम्बर ६ माझकोटमा एकदिने नि:शुल्क विशेषज्ञ सहितको स्वास्थ्य शिविर आयोजना गरिएको हो।
प्यूठान नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको नि:शुल्क स्वास्थ्य शिविरमा स्थानीयले सेवा पाएकोको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले जानकारी दिनुभएको छ । स्वास्थ्य शाखा प्रमुख घिमिरेका अनुसार विशेषज्ञ चिकित्सक सहितको टोलीले नगरपालिका सबै दुर्गम वस्तीका आम नागरिकहरूलाई स्वास्थ्यको पहुँचमा ल्याउन शिविर सञ्चालन गर्दै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष रहेको बताउनुभयो ।
नगरपालिकाको वडा नम्बर ६ माझकोटको धर्मावती माध्यमिक विद्यालय लम्छ्याङनेटामा भएको नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका स्थानीय २ सय ६८ जनाले स्वास्थ्य उपचार सेवा लिएका घिमिरेले जानकारी दिनुभयो। जसमध्ये २ सय जना महिला र ६८ जना पुरुषले स्वास्थ्य परिक्षण गरिएको उहाँले जानकारी दिनुभयो । शिविरमा ५० जना महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गराएका हुन भने, ६९ जना महिलाको स्कृनिङ पाठेघरको समस्याको चेकजाँच गर्दा ७ जना पाठेघर खसेका बिरामीको फेला परेको थियो । शिविरमा सुगर जाँच, ब्लड प्रेसर, ग्यास्ट्रीक, छाला सम्बन्धि समस्या भएका बिरामी, हाडजोर्नीका बिरामी, नाक, कान, घाँटी, दम, खोकी र टाउको दुखेका बिरामीको उपचार गरि नि:शुल्क औषधि वितरण गरिएको छ।
त्यस्तै १२ जना गर्भवती महिलाको भिडियो एक्सरे सेवा लिएका थिए। बिरामीलाई अन्य समस्याको लागि उपचारको लागि जिल्ला अस्पताल प्यूठानमा जान आग्रह गरिएको शाखा प्रमुख घिमिरेले बताउनुभयो।
नगरपालिका भित्रका ग्रामीण भेगका आम नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु योगीले बताउनुभयो। नगरप्रमुख योगीले नगरक्षेत्रमा शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रलाई विशेष प्राथमिकता साथ काम गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै नगरउपप्रमुख देवेन्द्र वर्माले शिविरबाट सबै नागरिकहरु लाभान्वित हुन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “आफ्ना नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारी सृजना गर्ने जिम्मेवारी र दायित्व जनप्रतिनिधिको हो ।’
कार्यक्रममा प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु योगी, उपप्रमुख देवेन्द्र वर्मा, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारी, जिल्ला अस्पताल प्यूठानका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा.राजेन्द्र पौडेल लगायतको विशेषज्ञ सहितको टिम, स्थानीय जनता, जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको थियो।
फोटो: केसर सुनार