देउखुरी । दाङको देउखुरी उपत्यकाको राप्ती गाउँपालिकाले विद्यालयहरुमा ‘माई सेकेण्ड टिचर’ कार्यक्रमका लागू गर्ने भएको छ। बुधबार शिक्षकहरुका लागि शैक्षिक सूचना प्रणालीमा आधारित शिक्षण विधि,लर्निङ पेलेट फार्म सम्बन्धी एक दिवसीय क्षमता विकास कार्यक्रममा गाउँपालिकाले माध्यमिक तह सञ्चालन भएका सामुदायिक र संस्थागत दुवै किसिमका विद्यालयहरुमा याे कार्यक्रम लागू गर्न लागिएको जनाएको हाे।
गाउँपालिकाले विद्यालय शिक्षालाई पछिल्लो समय आएका विभिन्न नयाँ नयाँ प्रबिधिको प्रयोग गरि व्यावसायिकतामा जाेड दिने उदेश्यले यो कार्यक्रमका लागू गर्न लागिएको गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले बताउनुभयो ।
गाउँपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ११ र १२ अध्यापन गराउने शिक्षकहरुका लागि दिइएको शैक्षिक सूचना प्रणालीमा आधारित शिक्षण विधि,लर्निङ प्लेट फार्म सम्बन्धी एक दिवशीय क्षमता विकास कार्यक्रमले बिद्यालयलाई प्रविधिमैत्री बनाउदै व्यावसायिक शिक्षामा अग्रसर बनाउन फाइदा पुग्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धन बहादुर मास्कीले शिक्षा क्षेत्रमा प्रदेश सरकारले वर्षेनि लगानी दायरा फराकिलो गराएपनि परिणाम नदेखिएकाले बिद्यार्थीको व्यावसायिकताको बिकासको लागि सबैले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले शिक्षक पढाउने गुरुमात्रै नभएर समज र राष्ट्रको बौद्धिक बर्ग भएकोले शिक्षक शिक्षाकाको समाज रुपान्तरणमा अहम् भुमिका रहेको बताउनुभयो ।
मुलुकमा पछिल्लो समय प्रबिधिको तिब्र बिकास हुँदै गएको उल्लेख गर्दै मन्त्री मास्कीले शिक्षकहरु पनि समयानुकूल प्रबिधिमैत्री हुन आवश्यक रहेको बताउनुभयो । ‘अहिले पनि बिद्यालयमा किताबमुखी पठनपाठन हुँदै आएको छ ।’ उहाँले भन्नुभयो, ‘किताबमुखी प्रणाली विस्थापन गरेर प्रविधिमैत्री व्यवहारिक र आत्मनिर्भर शिक्षा हुन आवश्यक रहेको बताउनुभयो ।
गाउँपालिकामा रहेका १३ वटा सामुदायिक र संस्थागत बिद्यालयका ७० बढी शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो । गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले पछिल्लो समय युवा विद्यार्थी पढ्ने वा रोजगारी गर्ने बहानामा बिदेशीने क्रम बढ्दै गएको भन्दै विद्यार्थीलाई नयाँ प्रविधिको प्रयोग गरि शिक्षालाई व्यावसायिक र आत्मनिर्भर बनाई युवा विद्यार्थीलाई बिदेशीनबाट रोक्न पहल गर्ने बताउनुभयो ।
राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धन बहादुर मास्कीले गर्नुभएको थियो । उपाध्यक्ष कमलापती चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा इनेभेटिभ नेपाल ग्रुपका संस्थापक अध्यक्ष तथा माइ सेकेन्ड टिचर कार्यक्रमका कोफाउण्डर शुलभ बुढाथोकीले बिषय प्रवेश गर्नुभएको थियो।
कार्यक्रममा माइ सेकेन्ड टिचरका प्रमुख मेघा भट्टराई, उज्वल सुवेदी, सचिन श्रेष्ठ, अमन सुनाम, लिलाधर रिजाल लगाएतले शैक्षिक सूचना प्रणालीमा आधारित शिक्षण विधि, लर्निङ, प्लेट फर्म सम्बन्धि जानकारी गराउनु भएको थियो । कार्यक्रमको संचालन शिक्षा युवा शाखा प्रमुख विश्वास बिकले गर्नुभएको थियो ।



S.K. Creative Media Group