प्यूठान । झिमरुक गाउँपालिकाका बस्तीहरुमा चितुवा पसेर सताउन थालेपछि नियन्त्रणका लागि निकुञ्जको एक टोली प्यूठान आईपुगेको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राबिधिक टोलिले चितुवा नियन्त्रणको काम सुरु गरेको हो ।

राष्ट्रिय प्रकृतिक संरक्षण कोषबाट चितुवा नियन्त्रणको लागि फिरुलाला चौधरी, रामराज चौधरी, करारु चौधरी र बर्दिया राष्ट्रिय निकुन्जका भेटेनरी डाक्टर आयुस महर्जन सहित ४ जनाको टिम चितुवालाई ट्यापिङ्ग गर्ने काम थालेको छ ।

चितुवा बस्तीमा पसेर स्थानीयको बस्तुभाउ माथि दैनिक जसो आक्रमण गर्न थालेको गुनासो आएपछि गाउँपालिकाको अनुरोध र डिभिजन वन कार्यालय प्यूठानको समन्वयमा टोलीले काम शुरु गरेको हो । चितुवा नियन्त्रण गरि छाड्ने डिभिजन वन कार्यालय प्यूठानका अधिकृत हरि पौडेलले बताउनुभयो ।

गाउँपालिकाको वडा नं. ४ स्थित बाङ्गे टिमिलडाँडा, बाङ्गे, बौंडा, हरिय, शाझनठुटा, दोर्लाेटे लगायतका ठाँऊमा चितुवाले घरपालुवा खसि, बोका, बाख्रा माथि दैनिक आक्रमणले स्थानीयले हैरानी भोग्दै आएका थिए ।

चितुवाको आक्रमणबाट करिब १७ वटा बाख्रा र खसीबोका मरेको वडा सचिब प्रकाश जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार चितुवाको आक्रमण बढेपछि घरबाट बाहिर निस्कन, मेलापात गर्न, बालबालिकाहरुलाई स्कुल पढ्न आउजाउ गर्न समेत समस्या परेको छ । मानवीय क्षति हुने भयले स्थानीय त्रसित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय