प्युठान । दाङमा टिप्परको ठक्करबाट ज्यान गुमाएका दुई युवाका आफन्तले न्याय नपाएको भन्दै विभिन्न आन्दोलनमा उत्रिएका छन ।

पछाडीबाट टिप्परले हानेर मृत्यु भएका प्यूठानका मामाभान्जाका आफन्तको मागप्रति टिप्पर व्यवसायी संघले वेवास्ता गरेको भन्दै आज दाङमा यातायात बन्दको घोषणा गरेका छन ।

मृतकका आफन्तहरु र टिप्पर व्यवसायीबीच दिउँसभरी दाङमा छलफल भएपनि टिप्पर व्यवसायीले पीडितहरुको मागप्रति वेवास्ता गरेको विशालका दाजु राजेश जिसीले जानकारी दिनुभयो । दुवै पक्षलाई छलफल गराएर निकास निकाल्न समेत जिल्लाको प्रहरी प्रशासनले वेवास्ता गरेको पीडित पक्षको गुनासो छ ।

त्यस्तै मागप्रति वेवास्ता गरे अनिश्चितकालिन बन्दको घोषणा गरिने वार्ता समितिमा सहभागी झिमरुक गाउँपालिका प्यूठानका उपाध्यक्ष प्रमोदले चेतावनी दिनुभएको छ । ‘हाम्रो गुनासा र मागप्रति खेलाची गरिएको छ’,पोखरेलले भन्नुभयो,‘अकालमै गाउँपालिकाका भाइहरुले मृत्युवरण गर्नुपरेको छ, तर प्रहरी प्रशासन किन मौन छ ?’ उहाँले पछिल्लो समय बढ्दै गएको टिप्पर आतंकले धेरैको अकालमै ज्यान जाने खतरा बढिरहेको बताउनुभयो ।

मृत्युु भएपछि पीडित परिवारले पाउनुपर्ने उचित क्षतिपूर्ति, काजकिरिया खर्च तथा माेटरसाईकल नयाँ पाउनुपर्ने मागलाई सम्बन्धित पक्षले बेवास्ता गरेपछि आफुहरु बाध्य भई सडक संघर्षमा उत्रिन लागेकाे संघर्ष समिति संयाेजक एवम् झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमाेद पाेख्रेलले जानकारी दिनुभयो ।

 

शुक्रवार राती घोराही उपमहानगरपालिका वडा नम्वर १० स्थित झारबैरा चोकमा झिमरुक गाउँपालिका ४ बांगेमरोठ कोट प्यूठानका १७ वर्षिय विशाल जिसी र उहाँका भान्जा नौवहिनी गाउँपालिका ६ लुङका १८ वर्षिय सागर केसीको टिप्परले हानेर मृत्यु भएको थियो । आफ्नै साइडमा रहेको पल्सर बाइकलाई टिप्परले बसलाई ओभरट्याक गर्दा पछाडीबाट हानेको थियो । तुलसीपुरबाट घोराही तर्फ आउँदै गरेको रा १ क १३०७ नम्वरको टिप्परले रा २ प ५५८९ नम्वरको मोटरसाईकल राती सबा १० बजे ठक्कर दिएको थियो । घाइते दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतककाे शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे शव गृहमा राखिएको छ

मृतक विशाल जिसी घोराहीको दाङ भ्यालीमा कक्षा १२ मा अध्ययनरत थिए । उनका भान्जा सागर केसी रोजगारका लागि भारत जाने क्रममा आफन्त भेटघाटका लागि घोराही पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय