प्युठान । दाङमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार प्यूठानका दुई युवकको शव आफन्तले बुझेका छन । आइतबार जिल्ला प्रशासन कार्यालय दाङमा पीडित पक्ष र टिप्पर समिति बीच मृतक दुई युवकलाई जनही साढे ६ लाख रुपियाँ क्षतिपूर्ती उपलब्ध गराउने र नयाँ मोटरसाइकल किनेर दिने सहमति भएको हो ।
सहमतिपछि पीडितले शव बुझेको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोखरेलले जानकारी दिनुभयो । झिमरुक गाउँपालिका- ४ बाङ्गेका १७ वर्षीय विशाल जिसी र नौबहिनी गाउँपालिका-६ लुङका १८ वर्षीय सागर केसीको शुक्रबार राति उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको थियो ।
तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा १ क १३०७ नम्बरको टिप्परले घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा २ प ५५८९ नम्बको मोटरसाइकललाई घोराही उपमहानगरपालिका- १० झारबैरा चोकमा शुक्रबार राति ठक्कर दिएको थियो ।
गाउँपालिकाका उपाध्यक्ष पोखरेलले उचित क्षतिपुर्ती र न्यायको माग गर्दै शनिबार बेलुका नै आफुहरु दाङ पुगेर प्रहरी प्रशासन र टिप्पर धनीसंग छलफल गर्न खोजेपनि बेवास्ता गरेका कारण आन्दोलन गर्नु परेको बताउनुभयो ।