अनिल खत्री
गुल्मी । कतिपयले जन्म दिनमा ठूलो पार्टी आयोजना गरेर मनाउने गर्दछन् । तर समाजमा केहि यस्ता पात्राहरु पनि छन् जसले जन्मदिनको खर्च सामाजिक कार्यमा खर्चिन्छन् ।
गुल्मीका एक युवा व्यवसायी तथा समाजसेवीले पनि फरक तरिकाले आफनो जन्म दिन मनाउदै आउनुभएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१ क्याम्पसरोडमा व्यवसाय गर्दै आउनुभएका गुल्मी उद्योग संघका बरिष्ट उपाध्यक्ष जनक पन्थले पनि आफनो जन्म दिनको खर्च कटाएर अपांगतको क्षेत्रमा काम गर्दै आएको संस्थालाई सहयोग गर्नुभएको छ ।
पन्थले आफनो जन्म दिनको अवसर पारेर रेसुङ्गा नगरपालिका वडानम्बर-२ स्थित आशा अपांग केन्द्रलाई खाद्ययन्न सामाग्री सहयोग गरेर जन्मदिन मनाउनु भएको हो । गुल्मी जिल्लामा रहेको आशा अपांग केन्द्रले हजारौं अपांगता भएकाहरुलाई सहयोग गर्ने गरेको छ ।
पन्थले अघिल्ला वर्षहरुका जन्म दिन पनि बृद्ध आश्रममा गएर पनि मनाउदै आउनुभएको थियो । जन्म दिनमा हुने फजुल खर्चलाई आफुले सानोभएपनि सामाजिक क्षेत्रमा सहयोग गर्नुपर्छ भन्ने उदेश्यले केहि वर्ष यता जन्म दिनको खर्च कटौती गरेर फरक तरिकाले मनाउने गरेको पन्थले बताउनुभयो ।
मुख्य त जन्मदिनमा फजुल खर्चलाई सहि ठाउँमा व्यवस्थापन गर्नुपर्छ भन्ने मान्य आफुमा रहेको पन्थले भन्नुभयो । तम्घासमा व्यवसाय गर्दै आएका पन्थ बिभिन्न सामाजिक कार्यमा क्रियाशिल छन् ।