प्युठान । प्युठानको झिमरुक गाउँपालिकाले बृद्धवृद्धालाई न्यानो कपडा (ब्ल्यान्केट) वितरण गरेको छ । पछिल्लो समय जिल्लामा चिसो बढेकोले बृद्धवृद्धालाई चिसोबाट बचाउन भन्दै बुधबार झिमरुक-५ ले ब्ल्यान्केट वितरण गरेको हो ।
झिमरुक गाँउपालिका-५, का ४० जना जेष्ठ नागरिकलाई एक, एक थान न्यानो कम्बल प्रदान गरिएको वडा अध्यक्ष दधिराम पोख्रेलले जानकारी दिनुभयो । दुई हजार ८ देखि दुई हजार ९ सालको उमेर भित्रका बृद्धवृद्धालाई अत्याधिक चिसोबाट बचाउन सहयोग होस् भनेर न्यानो कपडा वितरण गर्ने कार्यलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो । यो कार्यक्रमले जेष्ठ नागरिकलाई थोरै भएपनि राहत हुने छ । अध्यक्ष महतरा क्षेत्रीले भन्नुभयो,”आगामी वर्ष बृद्धवृद्धालाई राहत हुने खालका अन्य कार्यक्रमलाई थप प्राथमिकता दिएर कार्यक्रम बनाउने योजनामा छौं।”
जेष्ठ नागरिकलाई अध्यक्ष पित बहादुर महतरा क्षेत्री र उपाध्यक्ष प्रमोद पोख्रेलले संयुक्तरूपमा ब्ल्यान्केट प्रदान गर्नुभयो । चिसोमा न्यानो कपडा पाउँदा बृद्धवृद्धा खुसी भएका थिए । उनीहरूले कार्यक्रमलाई निरन्तरताको लागि अनुरोध गरेका छन् ।
झिमरुक गाउँपालिकाका-५ का वडा अध्यक्ष दधिराम पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा झिमरुक गाउँपालिकाका अध्यक्ष पित वहादुर महतरा क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पालिका उपाध्यक्ष प्रमोद पोख्रेलको विशेष आतिथ्यता रहेको कार्यक्रममा ,निमित प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद पोख्रेल, महिला बालबालिका तथा जेष्ठनागरिक शाखा प्रमुख यमलाल पोख्रेल, नरेश जिसी जेष्ठ नागरिक जिल्ला समिति प्युठानका सदस्य ऋषिराम पोख्रेल, रेडक्रस मच्छि शाखा श्रीकृष्ण रिजाल, ज्ञानेन्द्र राज भट्टराई, वडासदस्य, जेष्ठ नागरिक लगायतको उपस्थिति रहेको थियो ।