प्युठान । प्युठानको ऎरावती गाउँपालिकाले आन्तरिक सडकको छेउछाउ जथाभावी राखिएका निर्माण सामग्रीले दुर्घटना हुने भन्दै सामाग्री हटाउन सूचना जारी गरेको छ । आन्तरिक सडकमा पानी हाल्ने, सडक खन्ने, माटो गिट्टी, बालुवा वा अन्य निर्माणका सामाग्री थुपार्ने कार्यले सडक अवरुद्ध हुने भएकोले यस्ता कार्य नगर्न नगाराउन भनेको छ । बुधबार एक सूचना मार्फत यस्तो कार्य गर्न गराउन निशेध गरेको जनाएको हो ।
सडक आसपास राखिएका अवरोधले सडक दुर्घटना हुन सक्ने भन्दै सडक छेउछाउ पशु चौपाया बाध्ने, सडक बिगार्ने कार्य भएको पाइएकोले यस बिषयमा गाउँपालिकाले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
एैरावती गाउँपालिका अध्यक्ष नबिल बिक्रम शाहले सडकमा सामाग्रीहरु राख्नाले सवारीसाधनलाई आवातजावतमा समस्या भएकोले हटाउन सम्बन्धित पक्षलाई जानकारी गराएको बताउनुभयो । दुर्घटना हुने संभावना कम गर्न, सभ्य, र सुन्दर गाउँपालिका निर्माणमा सबैको सहयोग आवस्यक रहेकोले यस बिषयमा सहयोग गर्न अध्यक्ष शाहले अनुरोध गर्नुभयो।
सार्वजनिक सडकमा अनावश्यक रुपमा नखन्न र सडकमा राखिएका तथा थुपारिएका निर्माण सामाग्रीहरु हटाउन गाउँपालिकाबासीलाई अध्यक्ष शाहले आग्रह गर्नुभएको छ।अध्यक्ष शाहका अनुसार कार्यपालिकाको बैठकको निर्णय बमोजिम सडक अवरुद्ध गर्ने सबै प्रकारका सामग्री हटाउन भनिएको बताउनुभयो । सूचना अनुसार १५ दिन भित्र सडक आसपास थुपारिएको सामग्री हटाउन निर्माण ब्यवसायी र सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।