प्यूठान । प्युठानको नौवहिनी गाउँपालिका–६ लुङ प्यूठान निवासी २९ वर्षिय ब्लड क्यान्सर पीडित प्रकाश केसीको उपचारको क्रममा काठमाण्डौँमा मृत्यु भएको छ। काठमाण्डौँस्थित त्रि.बि. शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा प्रकाश केसीको हिजो शुक्रबार मृत्यु भएको हो ।

चरम आर्थिक अभावका कारण समयमै उपचार नपाउँदा उहाँको मृत्यु भएको परिवारले जनाएका छन्। प्रकाशको उपचारका लागि ‘प्रकाश केसी बचाउँ अभियान’ समेत संचालन गरिएको थियो। यो अभियानमा सहयोगी मनहरुले सहयोग गर्दै पनि आउनुभएको थियो। रोजगारीको खोजीमा भौतारिरहेका केसीलाई ज्वरो आएर अस्पताल पुग्दा ब्लड क्यान्सर भएको जानकारी पाएपछि अस्पतालमा उपचार हुँदै आएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

मृतक प्रकाश केसीको जेठान दाई भरत केसीका अनुसार “डाक्टरहरुले उपचारमा करिव २५ देखि ३० लाख रुपैयाँ लाग्ने भन्नुभएको थियो।” उहाँले भन्नुभयो,”प्रकाशको उपचारमा सात लाख रुपैयाँ जति नगद सकियो । अन्य खर्च जुटाउन समस्या भयो।” केही दिन भेन्टिलेटर र आइसियूमा राखेर उहाँको उपचार भैरहेको थियो। उपचारकै क्रममा उहाँको मृत्यु भयो बचाउन सकिएन। उहाँले भन्नुभयो, “उपचार गर्दागर्दै पैसा पनि सकियो, ज्यान पनि बचाउन सकिएन।” घरपरिवारको बिचल्ली भयो । उहाँका नानिहरुको लालनपालन कसरी गर्ने हो केसीले बताउनुभयो ।

प्रकाश केसीको मृत्यु भएपछि उहाँका श्रीमती र छोरीहरू कलिलै उमेरमा सहारा बिहिन भएका छन्। जेठी छोरी १० वर्षिय कर्टिना केसी पाँच कक्षामा पढ्नु हुन्छ। आठ वर्षिय माइली छोरी करिना दुई कक्षा र चार वर्षिय कान्छी छोरी प्रमिसा बालशिक्षामा अध्ययन गर्दै आएका छन् ।

केसीकी आमा तारा केसीको नौ वर्ष अघि उपचारको क्रममा मृत्यु भएको थियो । बृद्ध बुवा लक्ष्मण केसीको पालनपोषण गर्ने जिम्मेवारी मृत्क केसीकै काँधमा थियो। बुवा पनि घरमा विरामी अवस्थामा हुनुहुन्छ। विरामी बुवा, श्रीमती र तीन छोरीहरुको पालनपोषणको जिम्मेवारी बहन गर्ने ब्यक्ति उहाँको निधनले केसी परिवारमा ठुलै बज्रपात परेको छ ।

घरपरिवारको कान्छो छोरा रहनुभएका मृतक केसीको आर्थिक अवस्था निकै कमजोर रहेको छ। जेठो दाई गोविन्द केसी भारतमा काम गर्ने क्रममा नालीमा खसेर मृत्यु भएको थियो। साइला दाई शुसिल केसीलाई मानसिक समस्या छ। माइला दाई रमेश केसी भारतमा मजदुरी गर्दै आउनुभएको छ।

काठमाण्डौँको एक प्रेसमा काम गर्दै आउनुभएका उहाँ दशैँपछि घरमै बेरोजगार बस्नुभएको थियो। केही वर्ष अगाडि प्यूठानमा पत्रिका वितरकको रुपमा समेत काम गर्दै आफ्नो घर खर्चको जोहो गर्दै आउनुभएको थियो ।

कलिलो उमेरमा प्रकाशकाे मृत्युले गाउँनै शोकमा डुबेको छ। प्रकाशलाई हिन्दु परम्परा अनुसार नौबहिनी गाउँपालिकाको अधेरी फेदीघाटमा आज बिहान दाहासस्कार गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय