प्यूठान । अपराध रोकथाम र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि माध्यमिक तहका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत शिक्षा विकास तथा समन्वय इकाई प्यूठानको आयोजना, जिल्ला प्रहरी
कार्यालय प्यूठानको सहकार्य तथा नेपाल जेसुईट सामाजिक संस्थाको प्राविधिक सहयोगमा २ दिने कार्यक्रम सञ्चालन गरिएको हो ।
तालिम उद्घाटन कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका कार्यालय प्रमुख शिवराज पण्डितको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले शिक्षक/प्रधानाध्यापकले अपराधको उजागर गर्ने र अपराध अनुसन्धानमा सहयोग पुर्याउनुका साथै समाजमा हुने अपराध कार्य सम्बन्धी जानकारी प्रहरीलाई उपलब्ध गराई कानुन कार्यन्वयनमा सहयोग पुर्याउनु र गुणस्तरीय शिक्षा प्रदान गर्न व्यवसायिक क्षमता विकासमा जोड दिनुपर्ने बताउनुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाले जिल्लामा अपराधको रोकथामका लागि सूचना प्रवाह र अनुसन्धान समेतमा प्रधानाध्यापकहरुले विशेष जिम्मेवारी र कर्तव्य सम्झि नेपाल प्रहरीलाई सहयोग पुर्याउन अनुरोध गर्नुभयो ।
कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका कार्यालय प्रमुख शिवराज पण्डितले शैक्षिक गुणस्तर वृद्धीका साथै सुरक्षित समाज निमार्णमा समेत प्रधानध्यापकहरुले रचनात्मक भुमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।
उक्त कार्यक्रममा प्यूठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका, माण्डवी गाउँपालिका र सरुमारानी गाउँपालिका अन्तरगतका २७ वटा माध्यमिक बिद्यालयका प्रधानाध्यापकहरु सहभागी छन् । कार्यक्रमको सहजीकरण सेन्ट जेभियर्स स्कुल जाउलाखेलका प्रिन्सिपल स्यामुयल सिमिकले गर्नुभएको छ ।