प्युठान । झिमरुक गाउँपालिकाले नदिजन्य पदार्थको निकासीको घाट खुल्ला गर्दै राजश्व असुली अमानत प्रक्रियाबाट गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको गाउँ कार्यपालिकाको सातौ बैठकले यस्तो निर्णय गरेको हो ।
गाउँपालिकाले प्रारम्भिक वातावरणीय परिक्षण(IEE) प्रतिवेदन अनुसारको नदिजन्य पदार्थको निकासी गर्ने प्रयोजनको लागि बोलपत्र आव्हान गरेपनी बोलपत्रको सूचना अबधिभर कुनैपनी निर्माण व्यवसायीको ठेक्का पर्न नआएकोले पालिकाले नदिजन्य पदार्थ डुङ्गा, गिट्टी र बालुवा निकासीमा लाग्ने राजश्व असुली अमानत प्रक्रियाबाट गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो । यो निर्णय भएसंगै पालिका भित्रपर्ने झिमरुक र गर्तन नदिहरुका प्रारम्भिक वातावरणीय परिक्षण (IEE) प्रतिबेदनले तोकिए अनुसारका विभिन्न घाटहरुबाट नदिजन्य पदार्थ डुङ्गा, गिट्टी र बालुवा निकासीको लागि बाटो खुलेको बताउनुभयो ।
झिमरुकमा डुङ्गा, गिट्टी र बालुवाको निकासी गर्ने बाटो नखुल्दा मदन भण्डारी राजमार्ग लगाएत पालिका र अन्य कार्यालयहरुले गर्दै आएका सानाठुला आयोजनाको निर्माणकार्य प्रभावित बनेको थियो।कार्यपालिकाले गरेको यो निर्णयले निर्माणका कार्यले अब गति लिने गाउँपालिका अध्यक्ष पित बहादुर महतारा क्षेत्रीले जानकारी दिनुभयो ।
कार्यपालिकाको बैठकले गाउँसभाको बैठक यहीँ पुस २९ गते बस्ने निर्णय गरेको छ । त्यस्तै भ्यागुते देखि गाउँपालिकाको भवन हुदैँ चुधरीखोला जोड्ने मोटरबाटो स्तरोन्नतिको लागि सडक बोर्डको बजेटबाट निर्माणकार्य अगाडि बढाउने सहमति जुटेको छ ।
नव प्रवर्तन कार्यक्रमको लागत साझेदारीमा प्रतिवद्धता पेश गर्ने निर्णय भएको छ। भर्खरैमात्र काठमाण्डौ महनगरपालिकाले झिमरुक गाउँपालिकालाई दिने भनिएको एम्बुलेन्स ओखरकोट स्वास्थ्य चौकीलाई संचालको जिम्मा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष पित बहादुर महतारा क्षेत्रीले बताउनुभयो ।
पालिकामा पुस २६ गते देखि २८ गते सम्म संचालन हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई थप व्यवस्थित र मर्यादित बनाउन जनप्रतिनिधि, खेलाडी, शिक्षक, र कर्मचारी आ-आफ्नो स्थानमा लाग्न अध्यक्ष एमसीले अनुरोध गर्नुभएको छ ।
बैठकले पालिकामा अहिलेसम्म विभिन्न शाखाबाट हुँदै आएका कामको समिक्षा गरेको छ। पालिकाले जनतालाई दिने सेवा प्रवाह जनमुखी बनाउदै कामको गति बढाउनुपर्ने बैठकको निष्कर्ष रहेको पालिका उपाध्यक्ष प्रमोद पोख्रेलले बताउनुभयो । त्यसको लागि जनप्रतिनिधि कर्मचारीहरु जनताको काममा जिम्मेवार भएर फिल्डमा खट्नुपर्ने उपाध्यक्ष पोख्रेलले बताउनुभयो। आर्थिक वर्षको आधा समय बितेको छ।
उपाध्यक्ष पोख्रेलले भन्नुभयो,”चालू आर्थिक वर्षमा संचालित सबै आयोजनाको गति बढाउन लागौं।” गति सुस्त पाएको छु। उहाँले भन्नुभयो, “गति बढाउन पालिकाले के गर्नुपर्छ भन्नुस्।” त्यस्को लागि वडाका जनप्रतिनिधि, सम्बन्धित शाखा र कर्मचारीले ध्यान दिएर अगाडि बढ्न उहाँले आग्रह गर्नुभयो ।”
झिमरुक गाउँकार्यपालिकाको सातौ बैठक गाउँपालिकाका अध्यक्ष पित वहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको बैठकमा गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत पवन कुमार शाही, कार्यपालिका सदस्य शाखा प्रमुख लगाएको उपस्तिथि रहेको थियो ।