प्युठान । लुम्बिनी प्रदेश सरकारका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य तुल्सीराम शर्माले शैक्षिक क्षेत्रको समग्र बिकास र समृद्धिको लागि स्वार्थ त्यागेर सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
शनिबार स्वर्गद्वारी क्याम्पस प्युठानको १२ औं क्याम्पस सभालाई सम्बोधन गर्दै शर्माले शिक्षा क्षेत्रमा दलिय भागबन्डा रोकेर शिक्षाको बिकासमा एक भएर लाग्नुको विकल्प नभएको बताउनुभएको हो ।
कार्यक्रमको प्रमुख अथिती समेत रहनुभएका प्रदेससभा सदस्य शर्माले जिल्लाको सबैभन्दा पुरानो र जिल्लामा शिक्षाको जग बसाउने यस स्वर्गद्वारी क्याम्पसको समग्र बिकासको निम्ति आफ्नोतर्फबाट पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो। “प्रदेश सरकारले शिक्षाको विषयमा ऐनकानुन बनाउने तयारी गरिरहेको छ।” उहाँले भन्नुभयो, “ऐनकानुन बनेपछि शिक्षाको धेरै समस्याको हल हुने बताउनुभयो ।
यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य धनलक्ष्मी श्रेष्ठले स्वर्गद्धारी बहुमुखी क्याम्पस जिल्लाका अन्य क्याम्पसहरुको समेत अभिभावक भएकोले यसलाई शैक्षिक हवको रुपमा बिकास गरेर लैजानुपर्ने बताउनुभयो। त्यसको लागि क्याम्पसको शैक्षिक, भौतिक, आर्थिक, सामाजिक र अनुशासन लगएत समग्र पक्षलाई समानान्तर रुपमा मिलाएर लैजानुपर्ने बताउनुभयो ।
क्याम्पस सञ्चालक समितीका अध्यक्ष तथा लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री कृष्णध्वज खड्काले क्याम्पसलाई व्यवस्थित बनाउन क्याम्पस ब्यवस्थापन समिति लागि परेपनि थप ब्यवस्थित बनाउन सबैपक्षको सहयोगको खाचो रहेको बताउनुभयो । राम्रो कामको प्रसंशा गर्दै शैक्षिक क्षेत्रका सबैखाले विकृति विसंगतिलाई अन्त्यको लागि सकारात्मक भएर लाग्नुपर्ने बताउनुभयो । यहाँ उठेका कतिपय सकारात्मक कुरालाई ग्रहण गर्दै क्रमश कार्यान्वयन गर्दै लैजाने बताउनुभयो । सबैको सकारात्मक सोच र सुझावले क्याम्पसलाई सुधार गर्न सकिने खड्काले बताउनुभयो। “जिल्लाको बिकास र समृद्धिको लागि राजनीतिक पुर्वाग्रहले कहिल्यै सहि गन्तव्यमा पुग्न नसकिने भएकोले सबै लागौं।” उहाँले भन्नुभयो ।
स्वर्गद्वारी बहुमुखी क्याम्पसको समग्र बिषयमा सुधार गर्न सबै पक्षहरु लाग्नु पर्नेमा कार्यक्रममा बोल्ने बक्ताहरुले जोड थियो।
स्वर्गद्वारी बहुमुखी क्याम्पसको सभा हलमा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री कृष्णध्वज खड्काको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य तुल्सीराम शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य धनलक्ष्मी श्रेष्ठ, स्थानीय तहका जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि, क्याम्पस प्रमुख, प्राध्यापक, शिक्षाप्रेमी, समाजसेवी, विद्यार्थी लगाएतको उपस्थिति रहेको थियो।