प्युठान। आज अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९२ मा घोषणा गरेसंगै हरेक वर्ष डिसेम्बर ३ तारिखका दिनमा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको छ ।
‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने यो वर्षको अपाङ्गता दिवसको राष्ट्रिय नारा रहेको छ ।
यस वर्षको अन्तर्राष्ट्रिय नाराले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि र दिगो विकासका लागि २०३० एजेन्डाद्वारा अपाङ्गता भएका व्यक्तिका लागि सबै मानवअधिकारको पूर्ति गर्ने राष्ट्रसङ्घको प्रतिबद्धतालाई बलियो बनाएको छ ।
यो ऐक्यबद्धता र प्रतिबद्धतालाई आत्मसात् गर्दै संविधान र दिगो विकासका लक्ष्य कार्यान्वयनमा अपाङ्गताको विषयलाई विशेष व्यवस्थासहित अघि बढाउनुपर्ने आवश्यकता देखिएको सरोकारवालाहरुको भनाइ छ ।
नेपालको संविधान, मौलिक हक, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनलगायतको प्रभावकारी कार्यान्वयनबाट मात्रै अपाङ्गता भएका व्यक्तिको जीवनस्तर र जीवनयापनमा सुधार हुनसक्ने उल्लेख गर्नु भएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको न्यायोचित सवालहरुको सम्बोधन हुनुपर्ने आवाज उठेपनी त्यसो हुन नसकेको गुनासो छ । यसको लागि सबै तहका सरकारले फरक क्षमता भएका ब्यक्तिहरुको चौतर्फी बिकासको लागि काम थाल्नुपर्ने उनिहरुको भनाइ छ ।
यसैबीच प्युठानका विभिन्न स्थानीय तहमा विविध कार्यक्रम गरेर दिवस मनाउन लागिएको राष्ट्रिय अपांग सेवा संघ प्युठानका निवर्तमान अध्यक्ष जुमान सिंह केसीले बताउनुभयो । अपांगताको सवालमा सम्बन्धित निकायले काम गर्नुपर्ने उहाँको भनाई छ ।