माधब बेलवासे
चन्द्रौटा । कपिलवस्तुको चन्द्रौटामा ८ औ चन्द्रौटा महोत्सव हुन लागेको छ । पुस १३ गते देखि २४ गते सम्म संचालन हुने महोत्सव सफल बनाउन तयारी स्वरुप सरोकारवाला सँग अन्तरक्रिया गरिएको छ ।
चन्द्रौटा उद्योग वाणिज्य संघद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले महोत्सवमा स्थानीय उत्पादनलाई प्रवर्द्धनमा जोड दिदै विगतका राम्रा अनुभवलाई समेत अनुसरण गर्दै यो महोत्सवलाई सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । महोत्सवले स्थानीयहरुलाई फाइदा हुने गरी काम गर्न समेत उहाँले आग्रह गर्नुभयो । उहाँले चन्द्रौटामा सुरु हुन लागेको महोत्सवले आपसी भाइचारा सम्बन्ध स्थापित गर्नुका साथै आर्थिक चलायमान हुने विश्वास व्यक्त गर्नुभयो ।
शिवराज नगरप्रमुख अजय थापाले महोत्सव सफल बनाउन स्थानीय व्यापारीहरुलाई विशेष छुट दिनुपर्ने बताउनुभयो । महोत्सव शिवराज नगरपालिकाको सान भएकाले सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।
त्यस्तै उपप्रमुख शिवकुमारी थारुले महोत्सवमा विभिन्न समुदायले उत्पादन गरेका सामाग्रीहरुलाई स्थान दिनुपर्ने बताउनुभयो । कृषि,पर्यटनलाई जोड दिदै स्टलहरु व्यवास्थापन गर्न सुझाव दिनुभएको छ ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य जमसेर अलि मियाले महोत्सवले यस क्षेत्रको आर्थिक विकास र समृद्धीमा मद्धत पुर्याउने बताउनुभयो।
कार्यक्रम बोल्ने वक्ताहरुले महोत्सवलाई भव्य रुपमा सफल बनाउन सबै क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । चन्द्रौैटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव राजकुमार क्षेत्रीले गर्नुभएको थियो ।