प्युठान । प्युठानका विद्यालयमा अध्ययनरत किशोरीहरुको रक्तअल्पता परीक्षण थालिएको छ । जिल्लामा रहेका सवै स्थानीय तहहरुसँगको समन्वयमा स्वास्थ्य कार्यालय प्युठानले विद्यालयका किशोरीहरुको रक्तअल्पता परीक्षण कार्यक्रम थालेको हो ।
स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेका अनुसार एउटा पालिकाबाट एउटा माध्यमिक तहको विद्यालय छनौट गरि रगत परीक्षण गर्न शुरु गरिएको छ । “गोलाप्रथा गरेर प्रत्येक पालिकाबाट एउटा मावि तहको विद्यालयमा यो कार्यक्रम गरिदै छ,” उहाँले भन्नुभयो, “कक्षा ६ देखी १२ कक्षासम्म अध्ययन गर्ने किशोरीहरुको रगत परीक्षण गरिएको छ ।”
प्रदेश सरकारले ल्याएको यस कार्यक्रमले विद्यालयमा किशोरीहरुलाई आईरन चक्की खुवाउने कार्यक्रमको प्रभाव मुल्याङ्कन हुने स्वास्थ्य कार्यालय प्युठानका प्रमुख पाण्डेको भनाई छ । जिल्लामा करीव ४० प्रतिशत किशोरीमा रक्तअल्पता रहेको समेत उहाँले बताउनुभयो । “कतिपय किशोरीहरुको समस्या एकदमै जटिल पनि भेटेका छौं,” उहाँले भन्नुभयो ।
यो कार्यक्रम सकिएपछि प्राप्त नतिजा सार्वजनिक गरिने उहाँको भनाई छ । सम्वन्धित विद्यालय, पालिकालाई नतिजा उपलब्ध गराउने उहाँले बताउनुभयो । रक्तअल्पताको अवस्था परीक्षणसँगै किशोरीहरुको रक्त समुह समेत पहिचान गरिएको छ । उक्त रिर्पोट समेत विद्यार्थीलाई दिइने कार्यालय प्रमुख पाण्डेले जानकारी दिनुभयो ।