प्यूठान । जिल्लाको झिमरुक गाउँपालिकामा आयोजना गरिएको राष्ट्रपति रनिङ शिल्डको उपाधी बालशिक्षा माध्यमिक बिद्यालय मच्छिले हासिल गरेको छ । झिमरुक गाउँपालिकाको आयोजनामा भएको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी बालशिक्षा माध्यमिक विद्यालय मच्छिले ८ स्वर्ण, ८ कास्य पदक जितेर उपाधी हात पारेको हो ।

त्यस्तै, सत्य माध्यमिक विद्यालय तुषाराले ७ स्वर्ण, ६ रजत र ३ कास्य पदक जित्यो भने बलभद्र माध्यमिक विद्यालय बाँदीकोटले ५ स्वर्ण, ३ रजत र ६ कास्य पदक जितेको छ । यहीँ पुस १० गतेदेखि शुरु गरिएको प्रतियोगिता १३ गते आइतवार सम्पन्न भएको छ । तिनदिनको समय तोकिएको प्रतियोगिता भलिबल खेल र केही एथलेटिक्स तर्फका फाइनल खेल नसकिएपछि एकदिन समय लम्बिएको थियो ।

समापन कार्यक्रममा बोल्दै पालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले खेलकुद केवल प्रतिस्पर्धा मात्र नभई राष्ट्र निर्माणका लागि सक्षम, अनुशासित र ऊर्जावान युवा उत्पादन गर्ने गतिलो माध्यम समेत भएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनहरूमा समेत विद्यालयस्तरीय खेलकुदको प्रवद्र्धन र विकासका लागि निरन्तर प्रतिबद्ध रहने बताउनुभयो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई गाउँपालिकाले विद्यार्थीको प्रतिभा पहिचान, प्रतिस्पर्धात्मक क्षमताको विकास, नेतृत्व निर्माण र विद्यालयबीचको सहकार्य सुदृढ गर्ने महत्वपूर्ण कार्यक्रमको रूपमा अगाडी बढाइरहेको अध्यक्ष क्षेत्रीले बताउनुभयो । खेलकुद प्रतियोगितालाई थप प्रभावकारी बनाउन आगामी दिनमा स्थानीय सरकारले पहल गर्ने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले समापन कार्यक्रममा बोल्दै खेलाडीमा तन्दुरुस्ती, आत्मविश्वास, नेतृत्व क्षमता र अनुशासन, विकास गर्ने उद्देश्य सहित खेलकुद आयोजना गरिएको बताउनुभयो । उहाँले उत्सवको रुपमा लिएको रनिङ शिल्डको माध्यमबाट विद्यालय तहबाटै राष्ट्रको पहिचान स्थापित गर्न सक्ने खेलाडी तयार हुने विश्वास व्यक्त गर्नुभयो । उपाध्यक्ष पोख्रेलले एउटा विद्यार्थीलाई खेलको माध्यमबाट अनुशासित मात्रै होइन, शारीरिक र मानसिकरुपमा समेत दक्ष बनाउन सकिने बताउनुभयो ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवालले बोल्दै खेल क्षेत्रका विकास र प्रवद्र्धनका लागि पालिकाले ठोस नीति र कार्यक्रम बनाएर अघि बढिरहेको बताउनुभयो । रनिङ शिल्ड प्रतियोगिता उपाधि उचाल्ने होडबाजी मात्रै नभएर, विद्यार्थीहरुको कला कौशलको प्रस्फुटनको माध्यम समेत भएकोले अनुशासन र मर्यादित भएर खेलकुद क्षेत्रमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।

झिमरुक गाउँपालिका-५, मच्छी स्थित मैनाके खेल मैदानमा आइतबार सम्पन्न रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिकाका भित्रका १२ वटा सामुदायिक विद्यालयहरुको सहभागीता रहेको शिक्षा शाखा प्रमुख पुष्प रानाले जानकारी दिनुभयो ।

विभिन्न विधामा संचालन गरिएको प्रतियोगितामा ८ सय ३५ जना खेलाडीहरुले भाग लिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सो प्रतियोगितामा बालशिक्षा माध्यमिक विद्यालय मार्चपासमा समेत प्रथम भएको छ ।

प्रतियोगितामा विजेता विद्यालय र खेलाडीलाई गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री, उपाध्यक्ष उपाध्यक्ष प्रमोद पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाल, वडा अध्यक्ष, कार्यपालिका सदस्यलगायतले सम्मान सहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रम गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको खेलकुद प्रतियोगितामा स्थानीय राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि कर्मचारी, बिद्यालयका प्रधानाध्यापक, खेल शिक्षक, शिक्षक, सुरक्षाकर्मी, विभिन्न बिधाका अम्पायर, खेलाडी, विद्यार्थी लगायत खेलप्रेमी स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख पुष्प रानाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय