प्युठान । प्युठानको ऎरावतीमा भएको निशुल्क पशु स्वास्थ्य शिविरबाट स्थानीय ६३ पशुपालन किसान प्रत्येक्ष लाभान्वित भएका छन् । सोमबार एकीकृत कृषि तथा पशु पंक्षी विकास कार्यालय प्युठानले आयोजना गरेको पशु शिविरबाट ऎरावती गाउँपालिका वडा नम्बर-३, स्थित ओखारीका ६३ जना पशुकिसान लाभान्वित भएका हुन।
ऎरावती-३, ओखरीमा भएको शिविरमा सालबास, कोलवाङ, दमार, खर्क दमार लगायत गाउँका स्थानीयले सेवा लिएको एकीकृत कृषि तथा पशु पंक्षी विकास कार्यालय प्युठानका निमित्त कार्यालय प्रमुख उमेश चन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार ६३ घरधुरीका स्थानीय पशुकिसानका १ हजार १ सय ८३ वटा बाख्रा, ९८ वटा गाइगोरु, २३ वटा भैंसी, २९ वटा वंगुर, ८ सय ३१ वटा कुखुरालाई आवस्यकता अनुसार जुका र उपियाको औषधी, भिटामिन, क्याप्सुल, लगायतका औषधी वितरण तथा पशुलाई आवस्यकता अनुसार खोप दिएको बताउनुभयो ।

कार्यक्रममा पशु स्वास्थ्य परिक्षण, उपचार सेवा, आन्तरिक तथा बाह्य परजीवी नियन्त्रण, पशु बन्ध्याकरण सेवा, रेविज खोप र अन्य प्राविधिक सेवा दिइएको पशु बिकास अधिकृत डा. गणेश बहादुर पुनले जानकारी दिनुभयो ।
शिविरबाट किसानहरुले पशुमा लाग्ने विभिन्न रोगका बारेमा जानकारी नहुँदा समस्या हुँदै आएको स्थानीय किसानले बताएका छन् । पशु चिकित्सक सहितको टोलि गाउँ पुगेर स्थानीय किसानहरुका समस्याको बारेमा परामर्श, उपचार सेवा तथा औषधि खोपको समेतको सेवा पाउँदा किसान खुशी भएका थिए। किसान लक्ष्यित कार्यक्रमको निरन्तरताका लागि किसानले कार्यालयलाई आग्रह गरेका थिए ।
एकीकृत कृषि तथा पशु पंक्षी विकास कार्यालय प्युठानका निमित्त कार्यालय प्रमुख उमेश चन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पशु स्वास्थ्य अधिकृत, पशु चिकित्सक जनप्रतिनिधि, स्थानीय किसान लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण एकीकृत कृषि तथा पशु पंक्षी विकास कार्यालय प्युठानका पशु प्राबिधिक भरत गिरीले गर्नुभएको थियो ।



S.K. Creative Media Group