
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरू हातबाट भाइटिका ग्रहण गर्नुभएको छ। बहिनीहरू विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीबाट प्रधानमन्त्री ओलीले भाइटिका लगाउनुभएको हो ।
उहाँले आइतबार बिहान ११ बजेर ३७ मिनेटको शुभ साइतमा विधिपूर्वक तिहारको टीका ग्रहण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा बहिनीहरूले प्रधानमन्त्री ओलीलाई टीका लगाइदिनुभएको हो। बहिनीहरूले टीका लगाइदिएपछि ओलीले पनि बहिनीहरूलाई टीका लगाइदिनु भएको थियो ।
नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले भाइटिकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा निकालेको थियो । सोही समयमा प्रधानमन्त्री ओलीले तुका ग्रहण गर्नुभएको सचिवालयले जनाएको छ। यद्यपि समितिले दिनभर नै टीका लगाउन सकिने जनाएको छ ।
यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ । भाइटिका लगाएसँगै पाँचदिनको यमपञ्चक सकिएको छ ।