प्यूठान । जिल्लाको जस्पुरमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ। आइतबारदेखि मुख्य बजारिक नाका माण्डवी गाउँपालिका -३ जस्पुर (चक्चके) बजारमा त्रिदेव प्यालेसले सेवा सुचारु गरेको हो ।

नयाँ ब्यवस्थापनका साथ निर्माण गरिएको त्रिदेव प्यालेसको लुम्बिनी प्रदेश होटल व्यवसायी महासंघका अध्यक्ष महेन्द्र श्रेष्ठले औपचारिक रुपमा आइतबार उद्घाटन गरेपछि संचालनमा आएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश होटल व्यवसायी महासंघका अध्यक्ष श्रेष्ठले स्वर्गद्वारीको काखमा रहेको निर्माण भएको प्यालेसले भारतीय तथा अन्तरिक पर्यटकहरुलाई समेत तान्न सक्ने सम्भावना रहेको बताउनुभयो । रोजगारी भन्दा व्यवसायबाट आर्थिक क्षेत्रमा छिटो जीवनस्तर माथि उठ्न सक्छ।कार्यक्रमका प्रमुख आतिथि समेत रहेका श्रेष्ठले भन्नुभयो,‘बैदेशिक रोजगारीको लागि दैनिक हजारौ युवा बाहिरिएको अवस्थामा उदाहरणीय काम गर्नुभएको छ।’ व्यवसाय प्रति लगनशील,निष्ठावान र इमान्दार भएर सफल व्यवसायको परिचय दिन सकिने समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले निजि लगानीमा सुविधा सम्पन्न प्यालेसले यो क्षेत्रको बिकासमा एक इटा थपेको बताउनुभयो । उहाँले निजि क्षेत्रमा लगानीको सुनिश्चितता, व्यवसायको प्रबर्द्धन गर्दै जानको लागि स्थानिय सरकारले वातावरण मिलाउने बताउनुभयो ।

त्यस्तै होटल व्यवसायी महासंघका केन्द्रिय सल्लाहाकार चन्द्रलाल न्यौपानेले सफल व्यवसाय बन्नको लागि गुणस्तरयुक्त सेवा, सरसफाई, व्यक्तिगत व्यवहार र आवस्यक भौतिक संरचना हुनुपर्ने बताउनुभयो ।

प्यूठान उद्योग बाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले ठुलो लगानीमा खोलिने व्यवसायको सुरक्षाका लागि स्थानीय सरकारले नीति निर्माण गरेर आर्थिक तथा भौतिक रुपमा सहयोग गर्नुपर्ने बताउनुभयो । सामुहिक लगानीमा व्यवसाय गर्दा जोखिम पनि कम हुनुका साथै परिणाममुखी हुने आचार्यको भनाई छ ।

जिल्लामा अहिले साना ठूला गरी करिब ८ सय होटलहरु सञ्चालनमा रहेको होटल व्यवसायी संघ प्यूठानका अध्यक्ष लिलाधर न्यौपानेले जानकारी दिनुभयो । कोभिड पछी सुस्ताएको होटल व्यवसाय यतिबेला प्यूठानमा ठुलो लगानीमा बनेको यस त्रिदेव प्यालेसले आन्तरिक तथा बाह्रय पर्यटनलाई समेत जोड्ने विश्वास लिएको न्यौपानेको भनाइ छ ।

होटल विशुद्ध पर्यटन संग जोडिएको क्षेत्र भएकोले जिल्लाको पर्यटन विकासमा राम्रो सहयोग पुग्ने इलाका प्रसाशन कार्यालय जस्पुरका प्रमुख कृष्ण थापाले बताउनुभयो । होटल संचालनले होटललाई मात्र नभएर चौतर्फी व्यवसायीहरुलाई समेत सहयोग पुग्ने थापाको भनाई छ ।

कार्यक्रममा निर्माण व्यवसायी संघ प्यूठानका बरिष्ठ उपाध्यक्ष शोभाराम न्यौपानेले पछिल्लो समय होटल क्षेत्रमा जिल्लाले राम्रो फड्को मारेको भन्दै सरकारले यस्ता व्यसायिको सुरक्षामा ध्यान दिनुपर्ने बताउनुभयो ।

स्थानिय युवाहरु सन्दिप के.सी,  सरद बस्नेत, भुवन आचार्य र शुसिम भुसालको संयुक्त लगानीमा होटल संचालन भएको हो । यस प्यालेस जिल्लामा अहिलेसम्मकै उत्कृष्ट एवं सुविधा सम्पन्न होटलहरु मध्य एक रहेको संचालकको दाबी छ । जिल्लाको पर्यटकीय क्षेत्रको विकाससँग प्रत्यक्ष सरोकार राख्ने व्यवसाय होटल भएकाले जिल्लाको पर्यटकीय विकासलाई केन्द्र विन्दुमा राखेर संचालनमा ल्याइएको नवनिर्मित होटल व्यसायिका अध्यक्ष शरद बस्नेतले बताउनुभयो ।

नवनिर्मित होटल संरचना सहित करिव चार करोडको लागतमा निर्माण गरिएको जानकारी दिनुभयो । ‘युवाहरु बैदेशिक रोजगारमा जाने लर्को लागेको बेला हामीले आफ्नै ठाउँमा सुबिधा युक्त होटल संचालनमा ल्याएका छौ।’ उहाँले भन्नुभयो, ‘यो हाम्रो सपना पनि हो, त्रिदेव प्यालेसले प्यूठानमा पर्यटन प्रबर्द्धन र विभिन्न आर्थिक गतिविधिमा वृद्धि आउने विश्वास लिएका छौं ।’

होटल संचालक सन्दिप केसीको स्वागत मन्तब्य संगै सुरु भएको उद्घाटन सत्रको कार्यक्रम संचालन पत्रकार राधिका भुसालले गर्नुभएको थियो ।

होटलमा विवाह, व्रतबन्ध, सेमिनार,थकाली खाना, स्थानीय परिकार, एसी कोठा,फेमिली रेस्टुरेन्ट गोष्ठी लगायतका कार्यक्रम र टुरिष्टहरुका लागि विशेष खालको सेवाहरु रहेका छन । एकै दिनमा एकसय भन्दा बढी पाहुनालाई खाना खुवाउन सकिने र होटलमा ५०/६० जना बस्न सकिने र प्रति दिन एक हजार देखी ३५ सय सम्मको कोठा रहेको संचालकको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय