प्यूठान । झिमरुक गाउँपालिका–६, तोरवाङको आयोजनामा सञ्चालन भएको वडा स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताको उपाधि अर्गेली ‘ए’ टिमले जितेको छ।

झिमरुक गाउँपालिका–५, मच्छीस्थित मैनाके खेलमैदानमा दुई दिनसम्म सञ्चालन भएको वडा स्तरीय टी–१० क्रिकेट प्रतियोगितामा चिचिण्डे टिम दोस्रो र अर्गेली ‘बी’ टिम तेस्रो भएको वडा सचिव रामकुमार चौधरीले जानकारी दिनुभयो। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः १६ हजार, १२ हजार र ८ हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

खेलकुदको विकास, स्थानीयस्तरमा खेल प्रतिभाको पहिचान तथा स्वस्थ समाज निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष धनबहादुर पुनले बताउनुभयो। प्रतियोगिताले वडाभित्रका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको उहाँको भनाइ थियो।

कार्यक्रममा अम्पायर डम्बर सिंह जिसीले खेलकुदलाई कलाका रूपमा व्याख्या गर्दै अनुशासन, लगनशीलता र जिम्मेवारीबोधका साथ खेल प्रदर्शन गर्न सकेमात्र सफल खेलाडी बन्न सकिने बताउनुभयो। उहाँले खेलकुद स्वास्थ्यका लागि समेत महत्त्वपूर्ण भएकाले प्रतियोगितामा मात्र नभई नियमित रूपमा खेलकुदमा सहभागी हुन आग्रह गर्नुभयो।

खेलाडीका तर्फबाट सागर केके ढकालले खेल क्षेत्रको विकासका लागि स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो। युवायुवतीमा खेलप्रतिको आकर्षण बढ्दै गए पनि आवश्यक भौतिक पूर्वाधार र सरकारी लगानी पर्याप्त नहुँदा खेलाडीमा निराशा बढेको उहाँको भनाइ थियो।

वडाध्यक्ष धनबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी झिमरुक गाउँपालिका सभापति टेकबहादुर ढकाल, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, खेलाडी, खेलप्रेमी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय