वीरेन्द्र गिरी

रोल्पा । नेपाल सरकार गृह मन्त्रालयले रोल्पाको गंगादेव गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय हाललाई कार्यान्वयन नगर्न र साविककै स्थानबाट सेवा प्रवाह गर्न जिल्ला प्रशासन कार्यालय रोल्पालाई पत्राचार गरेको छ।

निवेदक भुपाल दमाई र विपक्षी गंगादेव गाउँपालिकासमेत भएको उत्प्रेषणयुक्त परमादेशको रिट (नं. ०८१-WO-०३३६) मा सुनुवाइ गर्दै सर्वोच्च अदालतले केन्द्र सार्ने निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेपछि मन्त्रालयले सोही बमोजिम परिपत्र गरेको हो।

गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाद्वारा जारी पत्रमा उल्लेख भए अनुसार, सर्वोच्च अदालतले मिति २०८१/०६/०६ मा अन्तरिम आदेश जारी गर्दै गाउँसभाको मिति २०७९/३/३१ को निर्णय र नेपाल सरकारको मिति २०८१/०५/२० मा भएको केन्द्र परिवर्तन सम्बन्धी निर्णय कार्यान्वयन नगर्न/नगराउन भनेको छ।

अदालतको आदेशको सम्मान गर्दै मन्त्रालयले साविककै गंगादेव गाउँपालिकाको नाम तथा सानाडाँडा केन्द्रबाट पूर्ववतः गाउँपालिका सञ्चालन गर्न निर्देशन दिएको छ। शाखा अधिकृत खेमराज पौडेलद्वारा हस्ताक्षर गरिएको उक्त पत्र मिति २०८२/०८/२१ मा जिल्ला प्रशासन कार्यालय रोल्पालाई जानकारी तथा कार्यान्वयनका लागि पठाइएको छ।

यससँगै अब गंगादेव गाउँपालिकाको प्रशासनिक कामकाज नयाँ तोकिएको ठाउँको सट्टा पुरानै केन्द्र सानाडाँडाबाट सञ्चालन हुने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय