काठमाण्डौ । प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूबारे सार्वजनिक भएका समाचारप्रति सर्वोच्च अदालतको फूलकोर्टले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार बसेको सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठकले संविधान र कानुनको सर्वोच्चता तथा विधिको शासनप्रतिको प्रतिबद्धता अटल रहेको स्पष्ट पारेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता डा। अशोककुमार क्षेत्रीले जारी गरेको विज्ञप्तिमा संविधान र कानुनको सर्वोच्चता न्यायपालिकाको अटल आस्था र प्रतिबद्धता भएको उल्लेख गर्दै त्यसप्रति गम्भीर हुन सबैलाई आग्रह गरिएको छ ।

 

त्यस्तै, सार्वजनिक भएका विषयमा कुनै पूर्वाग्रह नराखी निष्पक्ष र स्वतन्त्र रूपमा संविधान तथा कानुनबमोजिम छानबिन गर्न र सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई फूलकोर्टले आग्रह गरेको छ ।

 

सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारका सम्बन्धमा हुने छानबिन र अनुसन्धानमा कानुनबमोजिम निर्वाह गर्नुपर्ने जवाफदेहिता र सहयोगका लागि आफूहरू प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

 

न्यायपालिका जनताको आस्था र विश्वासमा आधारित संस्था भएकाले छानबिनको निष्कर्ष नआउँदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न पनि फूलकोर्टले सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

 

साथै, प्रकाशित समाचारबाट विचलित नभई नियमित न्यायिक कार्यमा सक्रिय रहन देशभरका अदालतमा कार्यरत सम्पूर्ण न्यायाधीश तथा न्यायिक कर्मचारीलाई आग्रह गरिएको सर्वोच्च अदालतले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय