सुनिल जिसी
कहिलेकाहीँ प्रकृतिले यस्ता साधारण वस्तुहरूमा असाधारण सौन्दर्य लुकाएर राखिदिएको हुन्छ, जसलाई हेर्दा आँखाले मात्र होइन, मनले पनि महसुस गर्न थाल्छ। सयपत्री त्यस्तै एउटा फूल हो। न यसको सुन्दरता गुलाबको जस्तो चर्चित छ, न चमेलीको जस्तो सुवासित परिचय नै यसको विशेषता हो। तैपनि, नेपाली मनको कुनामा सयपत्रीले बनाएको स्थान कुनै महँगा र दुर्लभ फूलले सजिलै लिन सक्दैन। किनकि सयपत्री केवल बोटमा फुल्ने फूल होइन, यो त हाम्रो माटोको आत्मीयता, संस्कृतिको निरन्तरता, चाडपर्वको उमङ्ग र बाल्यकालका असङ्ख्य सम्झनाहरू एकै ठाउँमा फुलेको एउटा सुन्दर अनुभूति हो।
सयपत्रीलाई नियालेर हेर्दा लाग्छ, प्रकृतिले पहेँलो र सुन्तला रङका साना-साना पत्रहरू जोडेर एउटा यस्तो मुस्कान बनाइदिएको छ, जसले उदास मनलाई समेत केही क्षणका लागि उज्यालो बनाउन सक्छ। यसको रङमा बिहानको घामको न्यानोपन छ, गाउँको आँगनको आत्मीयता छ र नेपाली चाडपर्वको उत्साह छ। हावाको सामान्य स्पर्शसँगै हल्लिने यसको डाँठले मानौँ जीवनका कठिन परिस्थितिमा पनि मुस्कुराउन नबिर्सनू भनेर सम्झाइरहेको हुन्छ। अरू फूलजस्तै यो पनि फुल्छ र ओइलाउँछ, तर यसले मानिसको मनमा छोड्ने छाप भने लामो समयसम्म रहिरहन्छ।
गाउँको आँगनमा फुल्ने सम्झनाको फूल
गाउँको जीवनलाई नजिकबाट चिनेका मानिसहरूका लागि सयपत्रीको अर्थ फूलमा मात्र सीमित हुँदैन। यो त घरको डिलमा फुलेको बाल्यकाल हो, बिहानै बारीमा पुगेर फूल टिपेको सम्झना हो, आमाले पूजाका लागि फूल जम्मा गरेको दृश्य हो र चाडपर्व आउनुअघि घरआँगन सफा गर्दै बिताएका रमाइला दिनहरूको एउटा जीवन्त तस्बिर हो।
गाउँघरमा सयपत्री रोप्न कुनै ठूलो तयारी चाहिँदैनथ्यो। घरको छेउमा रहेको सानो बारी, आँगनको कुनो वा बाटोको डिलमा केही बिरुवा रोपिदिए पुग्थ्यो। समय बित्दै जाँदा ती बिरुवाहरू बढ्थे, हरिया पातका बीचबाट साना कोपिला देखिन्थे र एक दिन अचानक पूरै बोट पहेँलो तथा सुन्तला रङका फूलले भरिन्थ्यो। लाग्थ्यो, प्रकृतिले कुनै उत्सव मनाउन आफ्नै हातले आँगन सजाइरहेकी छ।
ती फूलसँगै घरमा एउटा बेग्लै रौनक प्रवेश गर्थ्यो। बालबालिकालाई फूल टिप्न हतार हुन्थ्यो, आमाहरूलाई पूजा र मालाका लागि फूल जम्मा गर्नुपर्ने हुन्थ्यो। घरका ठूलाबडाले चाडपर्वका कामको तयारी गरिरहेका हुन्थे। त्यतिबेला सयपत्रीको एउटा फूल टिप्नु पनि रमाइलो लाग्थ्यो, किनकि त्यो फूलसँगै मनमा चाडपर्वको खुसी, परिवारसँग बस्ने उत्सुकता र आफ्नोपनको मीठो अनुभूति गाँसिएको हुन्थ्यो।
आज समय फेरिएको छ। मानिसहरू गाउँबाट सहर पसेका छन्, कतिपय विदेशिएका छन् र पुराना आँगनहरू पहिलेझैँ भरिभराउ छैनन्। तर गाउँको कुनै कुनामा फुलेको सयपत्री देख्दा बितेका दिनहरू मनको ढोकामा आएर उभिन्छन्। आँखाले वर्तमान देखिरहेको हुन्छ, तर मन भने पुरानो आँगन, आमाको माया र बाल्यकालको निश्चिन्त संसारमा पुगिसकेको हुन्छ। सायद यही नै सम्झनाको शक्ति हो—एउटा फूलले पनि मानिसलाई वर्षौँ पछाडि फर्काएर आफूले सबैभन्दा धेरै माया गरेको संसारसँग भेट गराउन सक्छ।
दशै र तिहारको रङमा सयपत्रीको छुट्टै पहिचान
नेपाली समाजमा सयपत्रीको चर्चा गर्दा दसैँ र तिहारलाई सम्झनु स्वाभाविक हुन्छ। यी चाडपर्वका अनेक रङमध्ये सयपत्रीको रङ पनि एउटा प्रमुख रङ बनेर उभिन्छ। दसैँको टीका, जमरा र आशीर्वादसँगै घरआँगनमा सजिएका फूलहरूले उत्सवलाई थप जीवन्त बनाउँछन्। तिहारमा भने सयपत्रीले घरको ढोका, पूजाकोठा, आँगन र गलाहरूमा विशेष स्थान पाउँछ।
तिहारको बिहान सयपत्रीको माला उन्ने दृश्य आफैँमा एउटा सुन्दर सांस्कृतिक कथा हो। कसैले फूल टिप्छ, कसैले डाँठ छुट्याउँछ, कसैले सियो र धागो तयार गर्छ र कसैले फूलका पत्रहरू नमिचिने गरी माला उन्छ। साना–साना फूलहरू एउटै धागोमा जोडिँदै जाँदा सुन्दर माला बन्छ। त्यो दृश्य हेर्दा लाग्छ, फूलले मात्र होइन, मानिसहरूले पनि आपसी माया र सहकार्यको धागोमा बाँधिएर सुन्दर समाज बनाउन सक्छन्।
फूलको माला घरको ढोकामा झुन्ड्याउँदा घरको शोभा बढ्छ, भगवान्को चरणमा चढाउँदा श्रद्धाको अभिव्यक्ति बन्छ र भाइटीकामा गलामा सजिँदा सम्बन्धको आत्मीयता झल्काउँछ। एउटै फूलले यति धेरै अर्थ बोकेर हिँड्नु आफैँमा आश्चर्यजनक कुरा हो।
हामी चाडपर्वमा नयाँ कपडा किन्छौँ, मिठा परिकार बनाउँछौँ, घर सजाउँछौँ र प्रियजनसँग खुसी साट्छौँ। तर यी सबै सजावटका बीच सयपत्रीले दिने सन्देश अझ गहिरो छ । चाडपर्वको वास्तविक सुन्दरता महँगा वस्तुमा होइन, सँगै बसेका मानिसहरूको मुस्कानमा हुन्छ। घर ठूलो वा सानो हुनु महत्त्वपूर्ण होइन; त्यस घरमा माया, सम्मान र आत्मीयता कति छ भन्ने कुरा महत्त्वपूर्ण हो।
त्यसैले सयपत्रीले सजिएको सामान्य घर पनि कहिलेकाहीँ महलभन्दा सुन्दर देखिन्छ। किनकि त्यसको सौन्दर्य पर्खालमा होइन, त्यहाँ बस्ने मानिसहरूको मनमा फुलेको हुन्छ।
सयपत्रिका पत्रहरू र जीवनका अनेक अर्थ
सयपत्रीको फूललाई नजिकबाट हेर्दा यसका असङ्ख्य पत्रहरू देखन्छन्। प्रत्येक पत्र सानो हुन्छ, तर सबै पत्रहरू मिलेर मात्र फूलले आफ्नो पूर्ण रूप पाउँछ। यही दृश्यले जीवनबारे एउटा सुन्दर दर्शन सिकाउँछ। हाम्रो जीवन पनि त्यस्तै हो। बाल्यकालका साना खुसी, आमाबुबाले दिएका संस्कार, साथीभाइसँग बिताएका पल, सफलताका अनुभव, असफलताबाट पाएका शिक्षा, दुःखमा साथ दिने हात र अप्ठ्यारोमा ढाडस दिने शब्दहरू—यी सबै जीवनका अलग–अलग पत्रहरू हुन् । कुनै एउटा अनुभवले मात्र जीवन पूर्ण हुँदैन। सुख र दुःख, मिलन र बिछोड, आशा र निराशा सबै मिलेर हाम्रो जीवनको वास्तविक स्वरूप निर्माण गर्छन्।
सयपत्रीको सुन्दरता यसको प्रत्येक पत्र अलग्गै हेर्दा होइन, सबै पत्र एकसाथ जोडिँदा देखिन्छ। त्यसैगरी समाजको सुन्दरता पनि कुनै एक व्यक्तिको सफलता वा शक्तिमा मात्र हुँदैन। समाजका फरक विचार, फरक क्षमता, फरक पृष्ठभूमि र फरक अनुभव भएका मानिसहरू एकअर्कालाई सम्मान गर्दै अघि बढ्दा मात्रै समृद्ध समाज निर्माण हुन्छ।
हामी कहिलेकाहीँ अरूको जीवनसँग आफ्नो जीवन तुलना गर्छौँ। कसैको सफलता देखेर आफूलाई कमजोर ठान्छौँ, कसैको सम्पन्नता देखेर आफ्नो खुसी सानो सम्झन्छौँ। तर सयपत्रीले यस्तो तुलना गर्न सिकाउँदैन। उसले त आफ्नै रङमा फुल्न सिकाउँछ। गुलाब बन्न नसके पनि सयपत्री आफ्नो सौन्दर्यमा कमी महसुस गर्दैन। उसलाई अरू फूलभन्दा ठूलो देखिनु छैन, आफ्नो स्वभावअनुसार फुल्नु छ।
मानिसले पनि यही कुरा बुझ्न सके जीवन धेरै सहज हुन सक्छ।अरूको बाटो नक्कल गरेर होइन, आफ्नै सम्भावना चिन्न सकेर अघि बढ्नु नै वास्तविक सफलता हो। सबैको गन्तव्य एउटै हुँदैन, सबैको समय एउटै हुँदैन र सबैको फुल्ने तरिका पनि एउटै हुँदैन। कसैले वसन्तमा फुल्छ, कसैले शरदमा; महत्त्वपूर्ण कुरा आफ्नो समय आउँदा फुल्न नछोड्नु हो।
परदेशिएका मन र गाउँमा फुलिरहने सयपत्री
आज नेपाली समाजको एउटा ठूलो यथार्थ वैदेशिक रोजगारी र बसाइँसराइ हो। गाउँका धेरै युवायुवती आफ्नो भविष्य खोज्दै देशका विभिन्न सहर वा विदेश पुगेका छन्। परिवारको आर्थिक अवस्था सुधार्ने, छोराछोरीको भविष्य बनाउने र घरको जिम्मेवारी पूरा गर्ने सपना बोकेर उनीहरू टाढिएका छन्।
उनीहरू जहाँ पुगे पनि मनको एउटा कुनामा आफ्नो गाउँ अवश्य बोकेका हुन्छन्। परदेशको व्यस्त सडकमा हिँड्दा, कामबाट थाकेर कोठामा फर्किंदा वा चाडपर्वका दिन परिवारको सम्झना आउँदा गाउँको आँगन आँखाअगाडि आउन सक्छ। त्यही आँगनमा फुलेको सयपत्री पनि सम्झनाको एउटा हिस्सा बनेर उभिन्छ।
कल्पना गरौँ, कुनै युवा आफ्नो गाउँबाट हजारौँ किलोमिटर टाढा छ। दसैँ वा तिहारको दिन उसले मोबाइलमा घरपरिवारको तस्बिर हेर्छ। घरको ढोकामा सयपत्रीको माला झुन्डिएको छ, आँगनमा परिवारका सदस्यहरू छन् र सबैका अनुहारमा खुसी छ। तस्बिरमा फूल मुस्कुराइरहेको छ, तर त्यो तस्बिर हेर्ने मानिसको मनमा भने घर पुग्न नसकेको पीडा पनि हुन सक्छ।
यहीँ सयपत्रीको अर्को अर्थ खुल्छ। खुसीको प्रतीक मानिएको फूलले कहिलेकाहीँ बिछोडको कथा पनि सुनाउँछ। फूलले घर सजाएको हुन्छ, तर घरको कुनै प्रिय सदस्य अनुपस्थित हुन्छ। आँगनमा उत्सव हुन्छ, तर कसैको मन परदेशमा अड्किएको हुन्छ। एउटै फूल कसैका लागि उमङ्ग बन्छ, कसैका लागि सम्झना र कसैका लागि घर फर्किने अधुरो चाहना।
त्यसैले सयपत्रीलाई केवल उत्सवको फूल भनेर मात्र बुझ्नु अपूरो हन्छ। यो त टाढिएका मानिसहरूलाई घरसँग जोड्ने भावनात्मक सेतु पनि हो। यसको रङमा घर फर्किने आशा हुन्छ, यसको मालामा परिवारसँग पुनर्मिलन गर्ने चाहना हुन्छ र यसको सुन्दरतामा आफ्नो माटो नबिर्सने मौन सन्देश हुन्छ।
मानिस जहाँ पुगे पनि आफ्नो माटोको सुगन्ध बिर्सनु हुँदैन। किनकि संसारका धेरै सुन्दर बगैँचामा फुले पनि बाल्यकालको आँगनमा फुलेको एउटा सयपत्रीले दिने आत्मीयता अर्कै हुन्छ।
प्रकृतिप्रतिको प्रेम र सयपत्रीको मौन सन्देश
सयपत्रीको फूलले हामीलाई प्रकृतिसँगको सम्बन्धबारे पनि सोच्न बाध्य बनाउँछ। आज विकासको नाममा वनजङ्गल घटिरहेका छन्, खेतबारीको स्वरूप बदलिँदै छ र मानिसको जीवन प्रकृतिबाट क्रमशः टाढिँदै गएको छ। सहरका अग्ला भवन र व्यस्त सडकबीच मानिससँग सुविधा बढेको होला, तर प्रकृतिलाई नजिकबाट महसुस गर्ने अवसर कतिपय अवस्थामा घटेको छ।
फूल हेर्न पनि हामीले विशेष बगैँचा खोज्नुपर्ने अवस्था आउन सक्छ, जबकि हाम्रा पुर्खाहरूका घरआँगनमै अनेक फूलहरू फुल्थे। घरको कुनामा रोपिएको सयपत्रीले कुनै ठूलो खर्चबिना वातावरणलई सुन्दर बनाउँथ्यो। त्यसले बालबालिकालाई प्रकृतिको चक्र बुझाउँथ्यो-बिउ रोप्ने, बिरुवा हुर्काउने, कोपिला लाग्ने, फूल फुल्ने र फेरि ओइलाउने प्राकृतिक प्रक्रियासँग परिचित गराउँथ्यो।
प्रकृतिको यही चक्रमा जीवनको सत्य लुकेको छ। कुनै फूल सधैँ फुलिरहँदैन। आज फुलेको सयपत्री पनि एक दिन ओइलाउँछ। तर त्यसको अर्थ फूल व्यर्थ भयो भन्ने होइन। उसले फुलेको समयमा वातावरण सुन्दर बनायो, मानिसलाई खुसी दियो, पूजा र संस्कारमा स्थान पायो अनि आफ्नो अस्तित्वको अर्थ पूरा गर्यो।
मानिसको जीवन पनि यस्तै हो । जीवनको लम्बाइभन्दा त्यसले अरूको जीवनमा पारेको सकारात्मक प्रभाव महत्त्वपूर्ण हुन्छ। कति वर्ष बाँचेका छौँ भन्ने प्रश्नसँगै कसका लागि उपयोगी भयौँ, कसको दुःखमा साथ दियौँ र आफ्नो उपस्थितिले कसको अनुहारमा मुस्कान ल्यायौँ भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
सयपत्रीले हामीलाई यही सम्झाउँछ-सधैँभरि फुलिरहन सम्भव नहुन सक्छ, तर फुलुन्जेल आफ्नो रङ नहराऔँ। जीवनमा जति समय पाएका छौँ, त्यसलाई प्रेम, सद्भाव र असल कर्मले सुन्दर बनाऔँ।
सयपत्री र बदलिँदो समयको वास्तविकता
पहिलेका दिनमा चाडपर्वका लागि घरमै फूल रोप्ने, आफ्नै बारीबाट फूल टिप्ने र परिवारका सदस्यहरू मिलेर माला उन्ने चलन धेरै ठाउँमा थियो। अहिले पनि यो परम्परा जीवित छ, तर कतिपय ठाउँमा बजारबाट तयार माला किन्ने प्रचलन बढेको छ। जीवन व्यस्त भएको छ, समयको अभाव बढेको छ र सुविधाप्रतिको निर्भरता पनि बढ्दै गएको छ।
यस परिवर्तनलाई पूर्ण रूपमा नराम्रो भन्न मिल्दैन। बजारले फूल उत्पादन गर्ने किसानलाई रोजगारी र आम्दानीको अवसर दिएको छ। सयपत्री खेती व्यावसायिक कृषि र स्थानीय उद्यमको आधार बन्न सक्छ। मेहनत गरेर फूल उत्पादन गर्ने किसानको पसिनाले चाडपर्वलाई रङ्गीन बनाउँछ र धेरै परिवारको जीविकोपार्जनमा सहयोग पुर्याउँछ।
तर सुविधासँगै एउटा प्रश्न पनि उठ्छ-के हामीले चाडपर्वको बाहिरी सजावट बढाउँदै जाँदा त्यसको आत्मीयता कतै कम गरिरहेका त छैनौँ? पहिले परिवारका सदस्यहरू मिलेर माला उन्दा बित्ने समय आफैँमा एउटा सम्बन्ध थियो। त्यस क्रममा गरिने कुराकानी, ठट्टा, हाँसो र अनुभव आदानप्रदानले परिवारलाई नजिक ल्याउँथ्यो आज तयार माला किन्न सजिलो छ, तर त्यसलाई उन्ने क्रममा प्राप्त हुने सामूहिक अनुभव बजारबाट किन्न सकिँदैन।
त्यसैले परम्परा जोगाउनु भनेको पुराना सबै अभ्यासलाई जस्ताकोतस्तै दोहोर्याउनु मात्र होइन। समयअनुसार परिवर्तन स्वीकार गर्दै परम्पराको मूल भावना जोगाउनु हो। फूल बजारबाट किनौँ वा आफ्नै बारीमा फुलाऔँ, महत्त्वपूर्ण कुरा प्रकृतिप्रतिको सम्मान, श्रमप्रतिको कदर र सम्बन्धप्रतिको आत्मीयता जीवित रहनु हो।
हामीले घरको आँगनमा केही सयपत्रीका बिरुवा रोप्न सके, बालबालिकालाई तिनको हेरचाह गर्न सिकाउन सके र चाडपर्वमा परिवारसँग समय बिताउन सके, त्यो पनि संस्कृतिको संरक्षणतर्फको एउटा सानो तर अर्थपूर्ण कदम हुनेछ।
सयपत्री: समानता, श्रम र आत्मसम्मानको प्रतीक
सयपत्रीको फूलको अर्को सुन्दर पक्ष यसको सहजता हो। यसले आफ्नो अस्तित्वका लागि ठूलो बगैँचा वा विशेष महल खोज्दैन। सामान्य माटोमा पनि अनुकूल वातावरण पाए फुल्न सक्छ। यही गुणले यसलाई सर्वसाधारणको जीवनसँग नजिक बनाउँछ।
समाजमा मानिसहरूलाई धन, पद, प्रतिष्ठा र बाहिरी रूपका आधारमा मूल्याङ्कन गर्ने प्रवृत्ति देखिन्छ । कतिपय अवस्थामा सामान्य पेसा गर्ने मानिसको श्रमलाई कम महत्त्व दिइन्छ, जबकि तिनै मानिसहरूको मेहनतले समाजको दैनिक जीवन चलिरहेको हुन्छ। सयपत्रीले भने यस्तो भेदभाव गर्दैन। यसको सौन्दर्य कुनै विशेष व्यक्तिको आँगनका लागि मात्र होइन; बाटोको डिलमा फुले पनि यो सुन्दर हुन्छ, सामान्य घरको बारीमा फुले पनि सुन्दर हुन्छ र भव्य बगैँचामा फुले पनि सुन्दर नै हुन्छ।
यसले मानिसलाई आफ्नो परिवेशसँग लज्जित नभई आत्मसम्मानका साथ बाँच्न सिकाउँछ। जीवनको मूल्य अरूले दिएको उपाधिले मात्र निर्धारण गर्दैन। इमानदार श्रम, असल व्यवहार, अरूप्रतिको सम्मान र आफ्ना जिम्मेवारीप्रतिको निष्ठाले मानिसको वास्तविक परिचय निर्माण गर्छ।
सयपत्रीले मानौँ भनिरहेको छ-तिमी कहाँ फुल्यौ भन्नेभन्दा पनि कसरी फुल्यौ भन्ने कुरा महत्त्वपूर्ण हो। तिमी कति चर्चित भयौ भन्नेभन्दा पनि तिम्रो उपस्थितिले कति खुसी बाँड्यो भन्ने कुरा महत्त्वपूर्ण हो।
यही सन्देश आजको समाजका लागि पनि उत्तिकै सान्दर्भिक छ। हामीले अरूलाई होच्याएर अग्लो देखिन खोज्नुको सट्टा एकअर्कालाई सम्मान गरेर सबैलाई फुल्ने वातावरण बनाउन सक्नुपर्छ। एउटा सुन्दर समाज त्यही हो, जहाँ हरेक व्यक्तिले आफ्नो क्षमता देखाउने अवसर पाउँछ र कसैको अस्तित्वलाई सानो ठानिँदैन।
ओइलाउदा पनि अर्थ बाँकी रहने फूल
फूल फुल्नु सुन्दर कुरा हो, तर फूल ओइलाउनु पनि प्रकृतिको सत्य हो । सयपत्रीका पत्रहरू बिस्तारै सुक्दै जाँदा यसको रङ पहिलेझैँ चम्किलो रहँदैन। कुनै समय आँगन सजाउने फूल एक दिन माटोमा मिसिन्छ। तर त्यसले आफ्नो जीवन व्यर्थ बिताएको हुँदैन।
मानिसको जीवनमा पनि यस्तै क्षणहरू आउँछन् । उमेर बढ्छ, शरीर कमजोर हुन्छ, पहिलेका अवसरहरू हराउँछन् र कुनै समय आफूले गरेको काम अरूले बिर्सन पनि सक्छन्। तर जीवनको सार सधैँ चर्चामा रहनु होइन। कसैको मनमा असल सम्झना बनेर बस्नु पनि एउटा ठूलो उपलब्धि हो।
आमाले लगाइदिएको फूलको माला, हजुरआमाले सुनाएको कथा, बुबाले सिकाएको इमानदारी र परिवारसँग बिताएका सामान्य दिनहरू वर्षौँपछि पनि मनमा जीवित रहन्छन्। ती क्षणहरू त्यसबेला सामान्य लागेका हुन सक्छन्, तर समय बितेपछि तिनै जीवनका अमूल्य सम्पत्ति बन्छन्।
सयपत्री पनि यस्तै हो। फूल ओइलाउँछ, माला पुरानो हुन्छ र चाडपर्व सकिन्छ। तर त्यस फूलसँग गाँसिएको भावना सजिलै ओइलाउँदैन। त्यसले सम्झाएको मानिस, ठाउँ र समय हाम्रो स्मृतिमा बाँचिरहन्छ।
जीवनको वास्तविक सफलता सायद यही हो-आफू गएपछि पनि आफ्नो व्यवहार, माया र असल कर्मको सम्झना अरूको मनमा बाँकी रहोस्। फूलले केही समयका लागि आँगन सजाउँछ, तर मानिसको असल व्यवहारले अरूको जीवनलाई लामो समयसम्म उज्यालो बनाउन सक्छ।
अन्त्यमा: मनभित्र पनि एउटा सयपत्री फुलाऔँ
सयपत्रीलाई हेर्दा हामीले प्रकृतिको सौन्दर्य मात्र होइन, जीवनको एउटा गहिरो पाठ पनि देख्न सक्छौँ । यसले आफ्नै रङमा फुल्न सिकाउँछ, धेरै पत्र मिलेर सुन्दर बन्ने कुरा सिकाउँछ, ओइलाउनु स्वाभाविक हो भन्ने स्वीकार गर्न सिकाउँछ र आफ्नो छोटो जीवनमा अरूलाई खुसी दिन सक्नु नै अर्थपूर्ण अस्तित्व हो भन्ने बुझाउँछ।
हामी सबैको जीवनमा अनेक ऋतुहरू आउँछन्। कहिले वसन्तजस्तो खुसी आउँछ, कहिले वर्षाजस्तो दुःख बर्सिन्छ र कहिले शरदको आकाशझैँ मन सफा हुन्छ। यी सबै परिस्थितिबीच हामीले आफ्नो मनको उज्यालो जोगाउन सक्नुपर्छ। अरूको सफलतामा खुसी हुन, दुःखमा साथ दिन, गल्तीमा क्षमा गर्न र सम्बन्धमा आत्मीयता कायम राख्न सक्यौँ भने हाम्रो जीवन पनि सयपत्रीझैँ सुन्दर बन्न सक्छ।
हामीले घरको आँगनमा सयपत्री रोप्नु राम्रो हो, तर त्यसभन्दा पनि महत्त्वपूर्ण कुरा मनको आँगनमा प्रेमको बिरुवा रोप्नु हो। घरमा फूलको माला उन्नु राम्रो हो, तर मानिसहरूबीच विश्वासको माला उन्न सक्नु अझ सुन्दर हो। चाडपर्वमा घर सजाउनु राम्रो हो, तर कसैको उदास मनमा आशाको उज्यालो भर्न सक्नु जीवनको सबैभन्दा ठूलो सजावट हो।
संसारलाई सुन्दर बनाउन सधैँ ठूला काम नै गर्नुपर्छ भन्ने छैन। कहिलेकाहीँ कसैलाई मीठो बोली बोलिदिनु, दुःखी मानिसको कुरा सुनिदिनु, मेहनत गर्ने मानिसको सम्मान गरिदिनु वा एक्लिएको व्यक्तिलाई साथ दिनु नै पर्याप्त हुन्छ । यस्ता साना कामहरू नै जीवनका सयपत्री हुन्, जसले वरिपरिको संसारलाई रङ्गीन बनाउँछन्।
त्यसैले जब अर्को पटक घरको डिलमा सयपत्री फुलेको देख्नुहुन्छ, एकछिन रोकिनुहोस्। त्यसको रङ मात्र नहेर्नुहोस्, त्यसले बोकेको सन्देश पनि बुझ्ने प्रयास गर्नुहोस्। आफ्नो बाल्यकाल सम्झनुहोस्, परिवारको माया सम्झनुहोस्, गाउँको माटो सम्झनुहोस् र आफूले अरूको जीवनमा कस्तो रङ भरिरहेको छु भनेर पनि सोच्नुहोस्।
किनकि जीवनको सुन्दरता सधैँभरि फुलिरहनुमा मात्र छैन; आफू फुलेको समयमा अरूलाई पनि मुस्कुराउन सिकाउनुमा छ।सयपत्रीझैँ फुलौँ—देखाउनका लागि होइन, खुसी बाँड्नका लागि।
सयपत्रीझैँ बाँचौँ-अरूभन्दा सुन्दर देखिन होइन, आफ्नो उपस्थितिले संसारलाई अलिकति सुन्दर बनाउन।
र सयपत्रीझैँ सम्झनामा रहौँ-आफ्नो रङले होइन, आफ्नो मायाले मानिसहरूको मनमा ठाउँ बनाएर।
आखिर, फूलको जीवन छोटो हुन सक्छ, तर त्यसले जगाएको खुसी लामो समयसम्म बाँच्न सक्छ। आँगनमा फुलेको सयपत्री एक दिन ओइलाउला, तर त्यसले सिकाएको प्रेम, आत्मीयता र जीवनको सुन्दरता हाम्रो मनमा सधैँभरि फुलिरहोस्।


S.K. Creative Media Group