प्यूठान । झिमरुक गाउँपालिका वडा नम्वर १ स्थित अमंरसिंह मावीमा विद्यालय शिक्षामा सूचना प्रविधीको प्रयोग सम्वन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । ग्रीक मिडिया प्रा.लि.बुटवलको आयोजना र वडा नम्वर १ कार्यालयको सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।
सूचना र प्रविधीले विद्यार्थीको पठनपठानमा पारेको सकरात्मक तथा नकरात्मक प्रभाव, सामाजिक सञ्जालले विद्यार्थीहरुमा पारेको सकरात्मक तथा नकरात्मक प्रभाव, सूचना तथा संचार प्रविधी (आइसिटी) कार्यक्रम अन्तर्गत विद्यालयले संचालन गरेका कार्यक्रम, आइसिटीको महत्व र आवश्यकता लगायत विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको छ । सूचना र प्रविधीको प्रयोग सम्वन्धी विद्यालयमा पहिलोपटक उक्त कार्यक्रम संचालन भएको प्रधानाध्यापक दान बहादुर जिसीले जानकारी दिनुभयो । पठनपाठनको अवधिभर विद्यालयमा विद्यार्थीहरुलाई मोवाइल ल्याउन निषेध गरिएको जिसीले बताउनुभयो । उहाँले विगत सात वर्षअघि विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट २४ थान कम्प्युटर प्राप्त गरेको कक्षा ६, ७, ८ मा ऐच्छिक विषयको रुपमा कम्प्युटर कक्षा संचालन गर्दै आइरहेको जानकारी गराउनुभयो । तर, स्थानीय पाठ्यक्रम लागु भएपछि चालु शैक्षिक शत्रदेखि कम्प्युटर कक्षा संचालन नभएको उहाँले बताउनुभयो । विद्यालयमा भएका कम्प्युटरको सदुपयोगको विषयमा विद्यालयले योजना बनाउने समेत उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं झिमरुक गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष धुर्वराज खनालले सूचना र प्रविधीको प्रयोग मानिसको दैनिक जीवनयापनसँग जोडिएको उल्लेख गर्नुभयो । ‘मानिसले एकछाक खाना छुटाउलान तर पलपलका खवरहरु हेर्न छुटाउदैनन्’,उहाँले भन्नुभयो,‘छिनछिनमा विश्वमा के भइरहेको छ, घरमै बसीबसी अपडेट लिन सकिन्छ । तर, प्रविधीको विकासलाई सदुपयोग भन्दा दुरुपयोग गर्नेहरु बढ्दै गएका छन्, यसबाट सवै सचेत हुनुपर्छ । विद्यार्थी जीवनदेखि नै प्रविधीको प्रयोग र सदुपयोगको बारेमा बुझ्नु जरुरी छ ।’


S.K. Creative Media Group