डोल्पा । डोल्पा जिल्ला कारागारबाट फरार भएका थप दुई जना कैदीलाई प्रहरीले कात्तिक १७ गते राति पक्राउ गरेको छ ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४, रङ गाउँमा लुकिछिपी बसेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालीप्रसाद रोकाया र जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भन्ने कपिल परियारलाई प्रहरीले पक्राउ गरेको हो । डिएसपी अनिलराज गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।
पक्राउ परेकामध्ये एक जना जबरजस्ती करणी र अर्का चोरी मुद्दाका कैदी रहेको प्रहरीले जनाएको छ । उनीहरूसहित कारागारबाट फरार कैदीमध्ये चार जना पक्राउ परेका छन् । यसअघि प्रहरीले कात्तिक १७ गते बिहान रुकुमपश्चिमबाट दुई जना कैदीलाई पक्राउ गरेको थियो ।
कात्तिक १४ गते बिहान ६ बजे ठूलीभेरी नगरपालिका–३ स्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएका थिए । फरारमध्ये बाँकी चार जनाको खोजी कार्य तीव्र पारिएको डिएसपी गिरीले बताउनुभयो ।


S.K. Creative Media Group