प्यूठान । प्यूठानको झिमरुक गाउँपालिका–६ र ७ मा बिहीबारदेखि वडा स्तरीय टी–१० क्रिकेट प्रतियोगिता सुरु भएको छ। दुवै वडाको आयोजनामा छुट्टाछुट्टै खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिएको हो।
झिमरुक गाउँपालिका–६ को आयोजनामा मच्छीस्थित मैनाके खेलमैदान र वडा नम्बर ७ को आयोजनामा कुता स्थित फुर्सेगैरा खेलमैदानमा प्रतियोगिता सुरु भएको हो। दुवै प्रतियोगिताको उद्घाटन गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले गर्नुभएको थियो।
झिमरुक गाउँपालिका–६ का वडा अध्यक्ष धनबहादुर पुनका अनुसार प्रतियोगितामा ८ टोली सहभागी छन्। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः १६ हजार, १२ हजार र ८ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र हस्तान्तरण गरिने वडा अध्यक्ष पुनले जानकारी दिनुभयो ।
त्यस्तै, वडा नम्बर ७ मा आयोजित प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ।
उद्घाटन कार्यक्रममा उपाध्यक्ष पोख्रेलले स्थानीयस्तरमा लुकेर रहेका खेल प्रतिभाको पहिचान, खेलकुदको विकास र स्वस्थ समाज निर्माणका लागि प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो। उहाँले यस्ता प्रतियोगिताले वडा तहबाटै नयाँ खेलाडी उत्पादन गर्न र उनीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
मैनाके खेलमैदानमा आयोजित कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष धनबहादुर पुन र फुर्सेगैरा खेलमैदानमा आयोजित कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष कृष्णबहादुर जिसीले गर्नुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, खेलाडी, खेलप्रेमी, स्थानीयको उपस्थिति रहेको थियो ।



S.K. Creative Media Group