प्युठान । झिमरुक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार गाउँपालिकाको सभाहलमा स्वास्थ्य शाखाबाट आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन भएगरेका योजना तथा कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।
वार्षिक समीक्षा कार्यक्रममा गाउँपालिकाको स्वास्थ्य शाखा अन्तर्गत गाउँपालिका भित्र स्वास्थ्य क्षेत्रमा गरिएका योजना, कार्यक्रमहरुको समग्र विश्लेषणात्मक प्रगति विवरण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विकास केसीले प्रस्तुत गर्नुभएको थियो । स्वास्थ्य कार्यालय प्युठानका जनस्वास्थ्य अधिकृत नरेश बाबू श्रेष्ठले जिल्लाको समग्र प्रगति र स्थानीय तहको समिक्षामा स्वास्थ्य कार्यालयबाट आवश्यक सहजीकरण गर्नुभएको थियो ।
त्यस्तै पालिका अन्तर्गत ८ वटै वडामा रहेका स्वास्थ्य चौकी, स्वास्थ्य इकाई, केन्द्र, पालिका भित्र स्वास्थ्यको क्षेत्रमा काम गर्न कृयाशिल विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले आ-आफ्नो कार्यक्रम, योजना र सेवा प्रवाह बारे वार्षिक प्रगति आगामी कार्ययोजना समेतको विवरण प्रस्तुत गर्नुभएको थियो ।
गाउँपालिकाले हालसम्म हासिल गरेका उपलब्धिहरू सिङ्गो पालिका, स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको सिर्जनशीलता, मेहनत र जनप्रतिनिधिहरुको समन्वयकारी भुमिकाबाट सम्भव भएको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री बताउनुभयो ।
उहाँल्रे स्वास्थ्य क्षेत्र मानवीय हिसाबले निकै संवेदनशिल भएकोले आगामी दिनमा अझै राम्रो र सेवाप्रवाहलाई जनमैत्री बनाउन थप जिम्मेवार भएर जनताको सेवामा स्वास्थ्यकर्मीहरु समर्पित भइ कार्यस्थलमा खट्न समेत अनुरोध गर्नुभयो।
अध्यक्ष महतरा क्षेत्रीले ‘हाम्रो झिमरुक राम्रो झिमरुक’ बनाउने अभियान र अवधारणा पूरा गर्न जनमैत्री, सुशासन, पारदर्शी र परिणाममा देखिने गरी काम गर्नुपर्ने बताउनुभयो । त्यसको लागि स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत अमर राज सेजुवालले समिक्षामा सुधार गर्नुपर्ने गरी औल्याएका विषयबस्तुहरु आगामी आर्थिक वर्षहरुमा सुधार गर्न थप कार्ययोजना बनाएर अगाडि बढ्न कर्मचारीलाई अनुरोध गर्नुभयो ।
आफ्नो तर्फबाट सुधार गर्नुपर्ने कतिपय विषयबस्तु सुधार गर्दै दैनिक सेवा प्रवाहलाई जनमैती बनाउन आफ्नो कार्यशैलीलाई थप व्यवस्थित प्रभावकारी ढंगले अघि बढ्न उहाँले कर्मचारीहरूलाई सुझाव दिनुभयो ।
प्रतिबेदनमा आएका नतिजालाई विश्लेषण गर्दा सुधार उन्मुख देखिएको भएपनी थप सुधार गर्न सम्बन्धित शाखा, कर्मचारी र जनप्रतिनिधिले आफुलाई समय सापेक्ष प्रविधिमैत्री बनाउदै ऎन, नियम, कानुन, निर्देशिका, परिपत्रको परिधिभित्र रहेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
गाउँ सभाबाट स्वीकृत नीति, बजेट तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सुशासन, पारदर्शिता र नतिजामुखी बनाउन सबैको जोड हुनुपर्ने बताउनुभयो ।
झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमर राज सेजुवाल, स्वास्थ्य कार्यालय प्युठानका जनस्वास्थ्य अधिकृत नरेश बाबू श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख विकास केसी, आठ वटै वडाका वडा अध्यक्षहरु, KIDS-EPiC परियोजनाका कार्यक्रम संयोजक अनुप अधिकारी, Ipas नेपालका प्रतिनिधि सिमा आचार्य, सबै स्वास्थ्य संस्थाका प्रमुख, शाखा प्रमुख अन्य कर्मचारी लगाएतको सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
न्युनतम मापदण्ड र सुचकको आधारमा उत्कृष्ट हुने दुई स्वास्थ्य संस्था पुरस्कृत
समिक्षा कार्यक्रममा न्युनतम मापदण्ड र सुचकको आधारमा उत्कृष्ट हुने दुई स्वास्थ्य संस्थालाई नगद सहित पुरस्कृत गरिएको छ । पालिकाले न्यूनतम सेवा मापदण्डको आधारमा उत्कृष्ठ हुने तोरवाङ्ग स्वास्थ्य चौकी र स्वास्थ्य संस्थाको सूचकको आधारमा उत्कृष्ट हुने टिमुरचौर आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई संस्थागत रुपमा नगद सहित पुरस्कृत गरिएको हो ।
उत्कृष्ट हुने दुबै स्वास्थ्य संस्थाहरुलाई नगद २० हजार र सम्मानपत्र सहित पुरस्कृत गरिएको स्वास्थ्य शाखा प्रमुख विकास केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार तोरवाङ्ग स्वास्थ्य चौकी प्रमुख सुमित्रा थापा ढकाल र कार्यवाहक वडा अध्यक्ष मित्रु गिरी र टिमुरचौर आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्रमुख हरी थापा र वडा अध्यक्ष तुलस बहादुर बस्नेतलाई संयुक्तरूपमा नगर पुरस्कर हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा पुरस्कृत हुन पाउदा काम गर्न थप हौसला मिलेको तोरबाङ स्वास्थ्य चौकी प्रमुख सुमित्रा थापा ढकालले बताउनुभयो । उहाँले आगामी दिनमा पनि थप उत्साहित भएर नतिजामुखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अन्य शाखा र कर्मचारीलाई आगामी दिनमा यो पुरस्कार कार्यक्रमले प्रतिस्पर्धा गरि कामको आधारमा अब्बल हुने अवसर समेत भएको छ ।





S.K. Creative Media Group