प्युठान । नेपाल मगर संघ लुम्बिनी प्रदेशको आयोजनामा तथा नेपाल मगर संघ प्युठान जिल्ला समितिको समन्वयमा चौथो पूर्ण बैठक, स्वागत तथा सुझाव संकलन र सम्मान कार्यक्रम सम्पन्न भएको छ । स्वर्गद्वारी नगरपालिका–२ स्थित स्वर्गद्वारी सामुदायिक मगर होमस्टेमा आयोजित कार्यक्रम नेपाल मगर संघका केन्द्रीय अध्यक्ष रक्षा राइका मगरको प्रमुख आतिथ्यतामा भएको हो ।
मगर समुदायको हकहित, अधिकार संरक्षण तथा सुधारमुखी कार्ययोजना निर्माणसँगै संगठनात्मक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी मगर अगुवा तथा प्रतिनिधिहरूले संगठनलाई थप प्रभावकारी बनाउँदै समुदायको हितमा केन्द्रित गर्नुपर्ने विषयमा विभिन्न सुझाव दिएका थिए ।
कार्यक्रममा सहभागी वक्ताहरूले सकारात्मक सुझाव संकलन भएको भन्दै मगर समुदायको भाषा, कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्दै त्यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सबैको साझा धारणा र एकता आवश्यक रहेको बताएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल मगर संघका केन्द्रीय अध्यक्ष रक्षा राइका मगरले सुझाव संकलन अभियानले मगर समुदायको सामुदायिक एकता र कार्यनीतिलाई थप प्रभावकारी, पारदर्शी र बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले मगर समुदायको आर्थिक उन्नतिका लागि व्यवसायिक हित, आपसी सहकार्य, सीपमूलक तालिम तथा उच्च शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । आर्थिक रूपमा सक्षम र शिक्षित समुदाय निर्माण गर्न सके मात्रै मगर समुदायका हक, अधिकार र पहिचानका सवाललाई थप प्रभावकारी रूपमा स्थापित गर्न सकिने उहाँको भनाइ थियो ।
कार्यक्रममा रोल्पा र प्युठानका स्थानीय तहका मगर जनप्रतिनिधिहरु (प्रमुख तथा उपप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य)सहित लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका मगर अगुवा तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । साथै जिल्लाका विभिन्न स्थानबाट आएका मगर समुदायका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमले मगर समुदायको भाषा, कला, संस्कृति, पहिचान र आर्थिक–सामाजिक विकासका सवालमा साझा धारणा निर्माण गर्दै आगामी कार्ययोजना तय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।




S.K. Creative Media Group