प्यूठान । चाडपर्वको समयमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न प्यूठानमा १ सय ७ सार्वजनिक सवारीसाधनको मेकानिकल चेकजाँच गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानले प्राविधिक टोलीसहित आइतबार प्यूठान–भालुवाङ सडकखण्डमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको यान्त्रिक अवस्था परीक्षण गरेको हो ।
चेकजाँचका क्रममा सवारीसाधनको ब्रेक, टायर, लाइट, स्टेरिङ, हर्न, इन्जिनलगायत महत्वपूर्ण यान्त्रिक प्रणाली परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

परीक्षणका क्रममा यान्त्रिक अवस्था कमजोर वा समस्या देखिएका सवारीसाधनका चालकलाई आवश्यक मर्मतसम्भार गरेर मात्र सञ्चालन गर्न सचेत गराइएको छ ।

चाडपर्वका बेला यात्रुको चाप बढ्ने र लामो दूरीमा सवारीसाधन सञ्चालन हुने भएकाले दुर्घटनाको जोखिम कम गर्न नियमित यान्त्रिक परीक्षणलाई प्राथमिकता दिइएको ट्राफिक प्रहरीले जनाएको छ ।

सवारीसाधन सुरक्षित र दुरुस्त अवस्थामा राखेर मात्र सञ्चालन गर्ने प्रतिबद्धतासहित यातायात व्यवसायी तथा चालकबाट हस्ताक्षरसमेत गराइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय