प्यूठान । स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा असोज १५ गतेदेखि १७ गतेसम्म तीन दिने पोषणसम्बन्धी IMAM (Integrated Management of Acute Malnutrition) तालिमको दोस्रो ब्याच सम्पन्न भएको छ ।
तालिममा विशेषगरी गम्भीर तीव्र कुपोषण (SAM) तथा मध्यम तीव्र कुपोषण (MAM) को पहिचान तथा व्यवस्थापन, कुपोषित बालबालिकाको वर्गीकरण, उपचार, फलोअप तथा आवश्यक अवस्थामा थप उपचारका लागि रेफर गर्ने प्रक्रियालगायतका विषयमा प्रशिक्षण तथा छलफल गरिएको थियो ।
साथै स्वास्थ्य संस्थाबाट कुपोषण व्यवस्थापन सेवाको प्रभावकारी सञ्चालन र समुदायस्तरमा कुपोषणको पहिचान तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा समेत अन्तरक्रिया गरिएको थियो ।
तीन दिने तालिममा जनस्वास्थ्य निरीक्षक प्रकाश घिमिरे र राजीव ठगुन्ना, हेल्थ असिस्टेन्ट लगायतका प्रशिक्षकहरूले सहजीकरण गर्नुभएको थियो । सहभागीहरूलाई कुपोषण व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक पक्षमा समेत प्रशिक्षण प्रदान गरिएको थियो ।
कार्यक्रमलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक समन्वय तथा सहजीकरण स्वास्थ्य कार्यालय प्यूठानका पोषण फोकल पर्सन पुष्कल श्रेष्ठले गर्नुभएको थियो ।
तालिमको दोस्रो ब्याचबाट सहभागी स्वास्थ्यकर्मीहरूमा SAM तथा MAM को समयमै पहिचान, उचित व्यवस्थापन, फलोअप तथा आवश्यक रेफरल प्रणालीसम्बन्धी ज्ञान र सीप अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।
तालिममा सहभागीहरूले तीन दिनको प्रशिक्षण अत्यन्तै उपलब्धिमूलक र व्यवहारिक रहेको प्रतिक्रिया दिएका छन् । प्रशिक्षकहरूले विषयवस्तुलाई सरल, स्पष्ट र व्यवहारिक रूपमा प्रस्तुत गर्दै सहभागीहरूको क्षमता अभिवृद्धिका लागि भरपूर प्रयास गरेको भन्दै सहभागीहरूले प्रशंसा गरेका थिए । साथै आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धिमूलक तालिमहरू नियमित रूपमा आयोजना गरी स्वास्थ्यकर्मीहरूको ज्ञान तथा सीप थप सुदृढ गर्न स्वास्थ्य कार्यालयसँग अनुरोध गरेका छन् ।
स्वास्थ्य कार्यालय प्यूठानको सभाहलमा भएको तालिमको औपचारिक उद्घाटन स्वास्थ्य कार्यालय प्यूठानका कार्यालय प्रमुख नरेशबाबु श्रेष्ठले गर्नुभएको थियो । तालिममा जिल्लाका विभिन्न स्थानीय तहअन्तर्गतका १८ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी तथा सबै पालिकाका स्वास्थ्य शाखाका सह–संयोजकहरूको सहभागिता रहेको थियो ।





S.K. Creative Media Group