प्यूठान । प्यूठान जिल्लाको पहिलो गैर सरकारी संस्थाको रुपमा स्थापित मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रको ४५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको कार्यालय खलंगामा आईतबार साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका सचिव पुनम श्रेष्ठले प्रगति प्रतिवेदन र कोषाध्यक्ष पशुपती श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०८२।०८३ मा ३ करोड ६१ लाख ९६ हजार ३८३ रुपियाँ कारोबार रहेको छ भने चालु आर्थिक वर्षमा २ करोड ८७ लाख ९ हजार ६२२ रुपियाँको कारोबार हुने अनुमान गरेको छ ।
संस्थाले हाल झोलुंगे पुल क्षेत्रगत कार्यक्रम, कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता विकास कार्यक्रम, स्वस्थ माटोका लागि पुर्नउत्थानशील कृषि अभ्यास कार्यक्रम र दिगो यौन तथा प्रजनन स्वास्थ्य र अधिकार तथा जलवायु उत्थानशिलता सुदृढीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा उत्कृष्ट कर्मचारी सीमा आचार्य र इन्द्रा बोहरालाई पुरस्कार प्रदान गरिएको थियो । साथै संस्थाले वार्षिक साधारणसभाको अवसरमा मल्लरानी गाउँपालिकाको ४ नम्वर वडा भित्रका आधारभुत तहका विद्यालयका विभिन्न विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको थियो ।
संस्थाका अध्यक्ष निर्जला कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्का प्रमुख अतिथी रहनुभएको थियो । स्वागत सह सचिव लोकेन्द्र सुनार र सञ्चालन कार्यकारी प्रमुख विजय कुमार श्रेष्ठले गर्नुभएको थियो ।


S.K. Creative Media Group