कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा ट्रक र बस एकापसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गमा आज बिहान ६ः१० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना.६ ख ३३३३ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लु.२ ख २४७१ नम्बरको टिपरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको लु.प्र.०३–००१ ख ००९९ नम्बरको बससँग ठक्कर खाएको थियो ।
दुर्घटनामा बस चालक बाँकेको खजुरा गाउँपालिका–५ निवासी ३४ वर्षीय सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालका अनुसार दुर्घटनामा संलग्न ट्रक चालक मोरङको कानेपोखरी गाउँपालिका–२ निवासी २४ वर्षीय रुपेश धिमाल र टिपर चालक कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ निवासी ३१ वर्षीय सञ्जयकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा घाइते हुनेमा सल्यानको शारदा नगरपालिका–१५ की ३५ वर्षीया पार्वती बोहोरा, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२ का १४ वर्षीय सुसान्त श्रेष्ठ, दाङको राप्ती गाउँपालिका–३ का ३४ वर्षीय रिसमान थारु, बाँकेको गुलरिया नगरपालिका–६ का २१ वर्षीय विष्णु थारु, मुगुको छायानाथ रारा नगरपालिका–१२ का १७ वर्षीय अरुण बुढाथोकी, बाँकेको राप्तीसोनारी गाउँपालिका–६ का १९ वर्षीय सागर थारु, सोही गाउँपालिका–८ की ३० वर्षीया तिलकुमारी खत्री, दाङको तुलसीपुर उपमहानगरपालिका–९ बलुवा निवासी २१ वर्षीया सम्झना चुदारा, जाजरकोटको छेडागाड नगरपालिका–११ का ४१ वर्षीय दीपेन्द्र गिरी, बाँकेको खजुरा गाउँपालिका–२ का ४० वर्षीय कृष्णबहादुर भण्डारी र कोहलपुर नगरपालिका–११ का ४५ वर्षीय गगन चुनारा रहेका छन् ।
घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको छ। प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।


S.K. Creative Media Group