काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा ओमानलाई पराजित गर्दै लिग २ मा छैटौं स्थानमा रहन सफल भएको छ ।
सोमबार अल अमेरत ग्राउन्ड टर्फ १ मा भएको खेलमा नेपालले ओमानलाई १० रनले पराजित गरेको हो । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले ५० ओभरमा ६ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो ।
ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ८९ तथा हम्माद मिर्जाले ८७ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले देव खनाल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा ५० ओभरमा अलआउट हुँदै २८० रन बनायो ।
रोहितले ८१ बलमा २ चौका र २ छक्कासहित ८० रन बनाए । दीपेन्द्रले ६२ बलमा ३ चौका र ४ छक्कासहित ६९ रन बनाए । ओपनिङ गरेका देवले ६५ बलमा ४ चौका र १ छक्कासअित ५७ रन बनाए ।
लिग २ को अंकतालिकामा शीर्ष ६ मा अटाउनका लागि नेपाललाई यो खेल जित्नैपर्ने दबाब थियो ।
सुरुवाती दुई खेलमा क्यानडा र ओमानलाई पराजित गरेको नेपाल त्यसपछि शनिबार क्यानडासँग पराजित भएको थियो ।
नेपाललाई हराएपछि क्यानडा ३६ खेलमा २९ अंकका साथ छैटौंमा उक्लँदा ३५ खेलमा २८ अंक भएको नेपाल सातौंमा झरेको थियो । अब नेपालले ओमानलाई हराएर ३६ खेलमा ३० अंकका साथ फेरि छैटौं स्थानमा उक्लिएको छ ।
लिग २ को शीर्ष ६ मा पर्ने टोलीहरूको ओडीआई मान्यता जोगिने उच्च सम्भावना रहन्छ ।


S.K. Creative Media Group