प्यूठान । माण्डवी गाउँपालिकाको आयोजनामा मंगलबारदेखि चौथो अध्यक्षकप खेलकुद प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन संविधानसभा सदस्य नारायणप्रसाद अधिकारीले गर्नुभएको हो।

प्रतियोगिताको उद्घाटन गर्दै अधिकारीले खेलकुद राष्ट्रको पहिचान र व्यक्तित्व विकासका लागि महत्वपूर्ण माध्यम भएको बताउनुभयो। उहाँले खेलकुदले अनुशासन, आपसी सद्भाव र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उल्लेख गर्नुभयो।

गाउँपालिका अध्यक्ष नमराज अधिकारी ‘रोसन’को अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पूर्णप्रसाद कालाथोकी, राष्ट्रिय स्वतन्त्र पार्टी प्यूठानका सभापति विकास पोख्रेल, नेकपा एमाले प्यूठानका अध्यक्ष विजयविराज विष्ट, नेपाली कम्युनिष्ट पार्टीका जिल्ला कार्यवाहक संयोजक बुद्धबहादुर बस्नेत, नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीलगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

माण्डवी गाउँपालिका–२ का वडाध्यक्ष प्रकाश वलीसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवी, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, बुद्धिजीवी, सञ्चारकर्मी, खेलाडी र स्थानीयवासीको उपस्थिति रहेको कार्यक्रममा वडा नं. ३ का अध्यक्ष धनेन्द्र कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन नारायण जिसीले गर्नुभएको थियो।

प्रतियोगितामा पुरुष तथा महिला भलिबल र पुरुष क्रिकेट खेल सञ्चालन हुनेछन्। गाउँपालिकाका पाँचवटै वडाबाट पुरुष भलिबलतर्फ १० समूह, महिला भलिबलतर्फ ५ समूह र पुरुष क्रिकेटतर्फ ५ समूह गरी कुल २० समूहको सहभागिता रहेको आयोजकले जनाएको छ।

बिहीबारसम्म सञ्चालन हुने प्रतियोगिताले स्थानीयस्तरमा खेल प्रतिभाको पहिचान र खेलकुद क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय