काठमाडौं । मगर समुदायको मौलिक सांस्कृतिक प्रतीक जलाकीलाई प्रेम, त्याग, विछोड र सम्झनाको भावनात्मक कथासँग जोड्दै फिल्म ‘जलाकी’ दर्शकमाझ आउने तयारीमा छ। निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको फिल्मले एउटा समुदायको सांस्कृतिक पहिचानसँगै सबै मानिसको जीवनमा जोडिने प्रेम र मानवीय संवेदनालाई पर्दामा प्रस्तुत गर्ने प्रयास गरेको छ।

मगर समुदायको सांस्कृतिक परम्परामा जलाकी केवल ढुङ्गाले बनेको संरचना होइन, यो आस्था, विश्वास, पुर्खाको सम्झना र सांस्कृतिक पहिचानको प्रतीक हो। यही सांस्कृतिक अर्थलाई सिनेमाको भाषामा प्रस्तुत गर्दै फिल्मले कसैको सफल प्रेम, कसैको अधुरो कथा र कसैको जीवनभरको प्रतीक्षालाई भावनात्मक रूपमा जोडेको छ।

मानिसको जीवनमा प्रेमका अनेक रूप हुन्छन्। कसैले प्रेम पाउँछ, कसैले त्याग गर्छ, कसैको प्रेम विछोडमा टुङ्गिन्छ त कोही प्रियजनको सम्झना बोकेर जीवन बिताउँछ। प्रेमी–प्रेमिकाबीचको सम्बन्धदेखि आमाबुबा, सन्तान र जीवनसाथीबीचको आत्मीयतासम्मका अनुभूतिलाई समेट्ने फिल्मको भावनात्मक पक्षले उमेर, लिङ्ग र समुदायको सीमाभन्दा माथि उठेर दर्शकको मन छुने अपेक्षा गर्न सकिन्छ।

फिल्ममा उपासना सिंह ठकुरी, सोनाम तोप्देन र शिल्पा मास्केलगायत कलाकारको अभिनय रहेको छ। मगर समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई प्रेमकथासँग जोडेर प्रस्तुत गर्नु फिल्मको अर्को विशेषता हो। आफ्नै माटोमा जन्मिएको सांस्कृतिक कथालाई सिनेमाको माध्यमबाट व्यापक दर्शकमाझ पुर्‍याउने प्रयासले नेपाली फिल्मको मौलिक पहिचानलाई समेत महत्त्व दिएको छ।

फिल्मको ट्रेलरले प्रेम, त्याग, विछोड र सम्झनाका विविध अनुभूतिको झलक प्रस्तुत गरेको छ। ढुङ्गामा सुरक्षित रहने सम्झनालाई पर्दामा जीवन्त बनाउने प्रयास गरेको ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय