प्यूठान । झिमरुक गाउँपालिका–६, तोरवाङको आयोजनामा वडा स्तरीय खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा महिला तर्फ मर्कावाङ “बि” र पुरुष तर्फ मर्कावाङ “ए” प्रथम भएका छन् । त्यस्तै पुरुष तर्फ द्वितीय र तृतीय क्रमश तोरवाङ र धगेले हासिल गरे भने महिला तर्फ द्वितीय र तृतीय क्रमश तोरवाङ र मर्कावाङको “बि” टिमले प्राप्त गरे ।

तीन दिनसम्म संचालन भएको प्रतियोगितामा पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडी टिमलाई क्रमशः १६ हजार, १२ हजार र ८ हजार रुपैयाँ हस्तान्तरण गरिएको वडा सचिब रामकुमार चौधरीले जानकारी दिनुभयो ।

त्यस्तै महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः १० हजार, ८ हजार र ५ हजार रुपैयाँ पुरस्कार हस्तान्तरण गरिएको वडा सचिब चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै विधाका विजेता टोलीलाई टीका लगाइ मेडल र प्रमाणपत्रसमेत हस्तान्तरण गरिएको बताउनुभयो ।

पुरुष तर्फ उत्कृष्ट खेलाडीको रुपमा बिकास पुन र अनुशासन खेलाडी तर्फ राजन सुनार छनोट भएको आयोजकले जनाएको छ । त्यस्तै महा तर्फ उत्कृष्ट खेलाडी जानबी पुन मगर र अनुशासन खेलाडी एलिसा पुन मगरलाई छनोट गरिएको आयोजनाले जानकारी दिएको छ।

उत्कृष्ट खेलाडीलाई एक हजार पाँच सय रुपैयाँ, र अनुशासित खेलाडीलाई एक हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको वडा सचिब चौधरीले जानकारी दिनुभयो ।

झिमरुक गाउँपालिका-६, मर्कावाङ स्थित गोयली खेल मैदानमा भएको वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुष तर्फ १६ टिम र महिला तर्फ ५ टिम दर्ता भएर खेलमा प्रतिस्पर्धा गरेका थिए ।

विजेता खेलाडीलाई पुरस्कार हस्तान्तरण गर्दै वडा अध्यक्ष पुनले प्रतियोगिताले वडाभित्रका खेलाडीहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाउनुका साथै वडा तह बाटै नवप्रतिभा खेलाडी उत्पादन गर्न सहयोग पुगेको बताउनुभयो ।

प्रतियोगितामार्फत खेलाडीको प्रतिभा पहिचान, स्थानीय स्तरमा भलिबल खेलको प्रवर्द्धन तथा वडाका खेलाडी बीच आपसी सद्भाव र सम्बन्ध विस्तारमा सहयोग पुगेको बताउनुभयो

झिमरुक गाउँपालिका-६ का वडा अध्यक्ष धन बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, शिक्षक, शिक्षिका, स्थानीय खेलाडी, खेलप्रेमी लगायत स्थानीयको उपस्थित रहेको थियो । खेलकुद सकिएपछि नृत्यमा सबैजना रमाइलो गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय