प्यूठान । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा प्यूठानमा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितासहित साहित्यिक समारोह आयोजना गरिएको छ।
शनिबार साहित्य परिषद् प्यूठान, खेमराज कालिका स्मृति प्रतिष्ठान र जनता माध्यमिक विद्यालयको संयुक्त आयोजनामा ‘समाज परिवर्तनमा साहित्यको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो।
प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले साहित्यले समाजमा पार्ने प्रभाव, सामाजिक विकृति–विसङ्गति र रूपान्तरणमा यसको भूमिकाबारे विचार प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर योगीले साहित्य समाजका विकृति र विसङ्गति उजागर गर्दै परिवर्तनको आधार बन्ने बताउनुभयो ।
साहित्य सधैँ सकारात्मक अभिव्यक्तिमा मात्र सीमित नहुने उल्लेख गर्दै उहाँले आक्रोश, विद्रोह र असन्तुष्टिका अभिव्यक्तिले समेत सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।
साहित्य परिषद् प्यूठानको अध्यक्ष विमला खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खेमराज कालिका स्मृति प्रतिष्ठानका अध्यक्षले कालिकाको योगदान स्मरण गर्दै निधनको ९१ दिनपछि उहाँको तस्बिर अनावरण गरिएको जानकारी दिनुभयो।
उद्योग वाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले विद्यार्थीको प्रतिभा र सिर्जनशीलताको प्रशंसा गर्दै साहित्यकार तथा सिर्जनशील व्यक्तित्वको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो।
प्रतियोगितामा प्रभात माध्यमिक विद्यालयका देविसिंह केसी प्रथम, भानुभक्त माध्यमिक विद्यालयकी वर्षा पौडेल द्वितीय, जनता माध्यमिक विद्यालयका तण्डु पण्डित तृतीय र मुक्ति माध्यमिक विद्यालयकी सबिना बिष्ट सान्त्वना हुनुभएको छ।

जनता माध्यमिक विद्यालय बाग्दुलाका प्रधानाध्यापक इन्द्रमणि पोखरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन साहित्य परिषद् प्यूठानका उपाध्यक्ष ध्रुव गिरीले गर्नुभएको थियो।
कार्यक्रमले नयाँ पुस्तामा साहित्यप्रतिको रुचि बढाउनुका साथै विद्यार्थीको विचार, तर्क र सिर्जनशील अभिव्यक्ति विकासमा जोड दिएको आयोजकले जनाएको छ।


S.K. Creative Media Group