काठमाडौँ । कोशी र कर्णाली प्रदेश सरकारले साउन २५ गते आज शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कोशी प्रदेश सरकारले आदिवासी दिवसको अवसरमा र कर्णाली प्रदेश सरकारले पञ्चमी (नाग पञ्चमी) को अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले सरकारले शुक्रवारका लागि सार्वजनिक बिदा दिएको जानकारी दिनुभएको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को बिहिवार २४ गते बसेको बैठकले बिदा दिने निर्णय गरेको हो । आज शुक्रबार २५ गते देशभर ३० औँ विश्व आदिवासी दिवस विविध कार्यक्रमको आयोजना गरि मनाइँदै छ ।
त्यस्तै कर्णाली प्रदेश सरकारको गत वैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकले साउन २५ गते आज साउन शुक्ल पञ्चमी (नाग पञ्चमी) मा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता एवम् उपसचिव उत्तम गौतमले जानकारी दिनुभयो ।
आज देशभर परम्पराअनुसार नागको पूजा गरी नागपञ्चमी पर्व मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइने गरिन्छ ।
नागको पूजा गरी नागको चित्र घरघरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका अन्य जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास रहिआएको छ ।



S.K. Creative Media Group