प्यूठान । स्वर्गद्वारी नगरपालिका-७ स्थित वेलवास माध्यमिक विद्यालयले पूर्व विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय, बिजुवारको सहयोगमा शनिबार पूर्व विद्यार्थी सम्मान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा शैक्षिक सत्र २०६५ देखि २०७५ सम्म एसईई उत्तीर्ण गरेका पूर्व विद्यार्थीहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक बहादुर भण्डारीले विद्यालय र भूतपूर्व विद्यार्थीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताउनुभयो । उहाँले भूतपूर्व विद्यार्थीहरू विद्यालयका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै विद्यालयको समग्र विकासमा निरन्तर सहयोग र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक दिनुप्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयको शैक्षिक उन्नयन, अनुशासन तथा गुणस्तर अभिवृद्धिका लागि विद्यालय परिवार निरन्तर क्रियाशील रहेको बताउनुभयो ।
कार्यक्रम अध्यक्ष रेशमी गोराथोकीले विद्यालयको प्रगति र विकासमा भूतपूर्व विद्यार्थीहरूको साथ, सहयोग र सुझाव अपरिहार्य रहेको बताउँदै आगामी दिनमा पनि विद्यालय र भूतपूर्व विद्यार्थीबीचको सम्बन्धलाई अझ सशक्त बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमको सञ्चालन शिक्षक जयप्रकाश खनालले गर्नुभएको थियो । सम्मान कार्यक्रमले भूतपूर्व विद्यार्थीहरूलाई विद्यालयसँग पुनः जोड्नुका साथै विद्यालयको शैक्षिक, सामाजिक तथा भौतिक विकासमा सहकार्यको नयाँ आधार तयार गरेको सहभागीहरूले बताएका छन ।
शिक्षक अभिभावक संघका अध्यक्ष रेशमी गोराथोकीको अध्यक्षतामा भएको कार्यक्रममा स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक बहादुर भण्डारी प्रमुख आतिथ्यता थियो । कार्यक्रममा शिक्षा शाखाका विष्णु बहादुर खड्का र वडा अध्यक्ष सुरज घर्ती मगर विशेष अतिथिका रहनुभएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, भूतपूर्व विद्यार्थी, अभिभावक तथा स्थानीय समाजसेवीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमका अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य, गीत तथा अन्य सिर्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए ।


S.K. Creative Media Group